काठमाडौं । अन्नतः नेपाल राष्ट्र बैंकले १८औँ गभर्नर पाएको छ । करिब दुई महिनादेखि निकै पेचिलो बन्दै आएको गभर्नर नियुक्तिको विषयमा मंगलबार सत्तासाझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति बनेसँगै सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
यसअघि गभर्नरको दौडमा सत्तासाझेदार दलकै तर्फबाट नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना (हाल कामु गभर्नर), राष्ट्र बैंककै कार्यकारी निर्देशकद्वय डा. गुणाकर भट्ट, डा. प्रकाशमान श्रेष्ठ, नबिल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, पूर्वसचिवहरू डा. राजेन्द्र किशोर क्षेत्री, डा. रविन्द्रप्रसाद पाण्डे थिए । उनीहरूको नाम चर्चामा रहेको भए पनि यी सबैलाई उछिनेर डा. पौडेल नयाँ गभर्नर बन्न सफल भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांगेसका सभापति शेरबहादुर देउवाबीच पटक–पटक सहमति भए पनि गभर्नरको लागि तयार गरेका व्यक्तिहरूको विषयमा कुरा नमिल्दा नियुक्तिको विषय पेचिलो बन्दै आएको थियो । सरकार अहिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको तयारीमा छ । त्यसैले बजेटअघि गभर्नर नियुक्त गरिसक्नुपर्ने बाध्यताका बीचमा मंगलबार सरकारले डा. पौडेललाई राष्ट्र बैंकको जिम्मेवारी सुम्पेको हो ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्यकाल सकिन दुई दिनअघि चैत २२ गते राष्ट्र बैंकबाट बिदा भएका थिए । गभर्नरको पद रिक्त हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्ति गरी सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ । तर सरकारले निकै ढिलो गरी गभर्नरमा नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो ।
गभर्नर नियुक्तिका लागि मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच डा. पौडेलको नाममा सहमति जुटेको थियो । सत्तासाझेदारबीच डा. पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेपछि मंगलबार नै अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको गभर्नर सिफारिस छनौट समितिको बैठक बसेको थियो । अर्थमन्त्री पौडेलसहित निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पौडेलको गभर्नर सिफारिस समितिको बैठक बसेको थियो । उक्त बैठकले गभर्नरको लागि डा. विश्व पौडैल, डेपुटी गभर्नर निलम ढुंगाना (हाल कामु गभर्नर) र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पठाएको थियो ।
को हुन् नवनियुक्त गभर्नर डा. पौडेल ?
नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकै विश्वासपात्र व्यक्ति हुन् । तत्कालीन समयमा देउवा प्रधानमन्त्री हुँदा पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । डा. पौडेलको देउवापत्नी आरजू राणासँग पनि राम्रो सम्बन्ध छ । परराष्ट्र मन्त्री आरजू राणाको ललितपुरमा रहेको निजी स्कुल युलेन्स स्कुलमा पनि डा. पौडेलले अगस्ट २०१९ देखि जुलाई २०२१ सम्म बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए । नवनियुक्त गभर्नर डा. पौडेल विभिन्न विषयमा सञ्चारमाध्यममा गहन अध्ययन गरेर अर्थतन्त्रका विविध विषयमा लेख र जर्नल प्रकशित गर्दै आएका छन् । मुलुकको अर्थतन्त्रको बारेमा राम्रै जानकार रहेका पौडेलले नेपालको भूगोल सुहाउँदो नीति लिनसक्ने बताइन्छ ।
पौडेलको शैक्षिक योग्यता
नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । त्यसअघि उनले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन समेत गरेका थिए । चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकसम्मको अध्ययन समेत पूरा गरेका छन् । डा. पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता समेत मानिन्छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्य समेत रहेका डा. पौडेलसँग विश्व बैंकको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव छ । राजनीतिक आस्थाका आधारमा नेपाली कांग्रेससँग रहेका डा. पौडेल चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट २०७९ को चुनावमा नेपाली कांग्रेसको उम्मेदवार बनेका थिए । उक्त चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका डा. पौडेल त्यसपछि सक्रिय राजनीतिबाट अलग्गिएर आर्थिक सुधारको लागि अध्यापनसँगै विभिन्न निकायहरूमा कार्यरत थिए ।