काठमाडौं । अर्घाखाँची जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन ‘जयजय भगवती सुपा देउरालीकी माई’ हालै सार्वजनिक गरिएको छ ।
सार्वजनिक भएको भजनमा लोकसंगीत क्षेत्रमा सक्रिय कलाकार मोतिराज खनालको नेतृत्व, स्वर, संगीत र अभिनय रहेको छ । यस भजनले धार्मिक आस्थासँगै पर्यटकीय प्रवर्द्धनमा योगदान दिने अपेक्षा गरिएको छ। भजनका शब्द मोतिराज खनाल र शेषनारायण पोखरेलको रहेको छ भने संगीत संयोजन खनाल स्वयं र धर्मेन्द्र अर्यालले गरेका छन् ।
उक्त भजनमा मोतिराज खनालसँगै शेषनारायण पोखरेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल र मञ्जु गुरुङको स्वर रहेको छ । भजनको निर्देशन सुरज खनालले गरेका छन् भने कोरियोग्राफी शिवजी क्षेत्रीको रहेको छ ।
सुपा देउराली मन्दिर हिन्दु धर्मालम्बीहरूका लागि अत्यन्तै पवित्र स्थल हो । यहाँ भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। देश तथा विदेशमा चर्चित यस मन्दिरको पहिलो आधिकारिक भजनका रूपमा यो एल्बम सार्वजनिक भएको जनाइएको छ । भजनले धार्मिक चेतना फैलाउने मात्र नभई सांस्कृतिक जागरण र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ।