काठमाडौं । पोखराको विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको १३ औँ वार्षिकोत्सव मनाएको छ । ग्रामीण समूदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाको माध्यमबाट आर्थिक तथा सामाजिकरूपमा समृद्ध सदस्य निर्माण गरी समग्र देशको अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन सहयोग गर्ने उद्देश्यले २०७०/०२/०५ गते स्थापना भएको संस्थाले सोमबार १३औँ वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा संस्थाको विभिन्न शाखा तथा केन्द्रीय कार्यालयले विविध कार्यक्रम सञ्चालन गरेको थियो । वित्तीय संस्थाको केन्द्रीय कार्यालय विजयपुर, कास्कीले पोखरा महानगरपालिका वडा नं–२६ मा ‘वित्तीय साक्षरता आजको आवश्यकता’ विषयक अन्तर माध्यामिक विधालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
शाखा कार्यालय नौडाँडाले पोखरा महानगरपालिका २४ स्थित दोपहरे आमा समूहलाई सांस्कृतिक प्रवद्र्धनको लागि जिन्सी साम्रगी वितरण, शाखा कार्यालय मनकामना गोरखाले मनकामना मन्दिर परिसरमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो । शाखा कार्यालय अमराई, अर्घाखाँचीले श्री सुभोधिनी माविमा शैक्षिक सामग्री वितरण तथा शाखा कार्यालय महेन्द्रनगर, धनुषाले श्री क्षिरेश्वर जनता माविको प्राङ्गणमा ‘वित्तीय साक्षरता आजको आवश्यकता’ विषयक अन्तर माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।
विपन्न वर्गसँग १३ वर्ष सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्षरूपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो, कोभिड महामारी तथा बजारमा देखिएको आर्थिक मन्दीलगायत विनाशकारी घटना तथा परिघटनाहरूको बाबजुद पनि यस वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व र ग्राहक संरक्षणका विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
वित्तीय संस्थाको ५४ जिल्लामा एक सय २१ वटा शाखा कार्यालयमार्फत करिब एक लाख ५९ हजार सदस्य तथा ६१ हजार पाँच सय ऋणलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । २०८२ वैशाख मसान्तसम्ममा वित्तीय संस्थाले करिब १० अर्ब पाँच करोड रुपैयाँ कर्जा लगानी र तीन अर्ब ४५ करोड बचत परिचालन गरिरहेको छ ।