सिड्नी । अष्ट्रेलियाको केन्द्रीय बैंकले हालै मौद्रिक नीतिमा परिवर्तन गर्दै आफ्नो औपचारिक नगद दर २५ आधार विन्दुले घटाएर तीन दशमलव ८५ प्रतिशतमा ल्याएको छ । यो सन् २०२५को दोस्रो ब्याजदर कटौती हो, जुन निर्णय मंगलबार बैंकको सञ्चालक समितिको बैठकपछि सार्वजनिक गरिएको हो ।
बैंकले जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि (मुद्रास्फीति)लाई स्थिर र नियन्त्रणमा राख्ने उद्देश्यसहित ब्याजदर घटाइएको उल्लेख गरिएको छ । सन् २०२२ मा अष्ट्रेलियामा मुद्रास्फीति अत्यन्त उच्च विन्दुमा पुगेको थियो, जसले गर्दा त्यतिबेला केन्द्रीय बैंकले निरन्तररूपमा ब्याजदर बढाउँदै आएको थियो । ती नीतिहरूले समग्र माग र आपूर्तिबीच सन्तुलन ल्याउन केही हदसम्म सफलता पाएको बैंकले जनाएको छ । हालको स्थितिमा मूल्यवृद्धि केही ह्रास भएको देखिएको र आर्थिक गतिशीलता बढाउन ब्याजदर घटाउने निर्णय गरिएको हो ।
साथै, बैंकले पछिल्ला तीन महिनामा विश्वभर आर्थिक अनिश्चितता बढेको र यसको असर अष्ट्रेलियाली अर्थतन्त्रमा पनि पर्ने भएकाले सावधानीपूर्वक नीति बनाइरहेको जनाएको छ । घरेलु बजारको अवस्था अझै स्पष्ट नभएको र उपभोक्ता तथा व्यवसायीहरूको व्यवहार कसरी परिवर्तन हुन्छ भन्ने कुराले आगामी निर्णयहरूलाई प्रभावित पार्ने बैंकको भनाइ छ ।