देउखुरी (दाङ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान सरकार आर्थिक विकास, पूर्वाधार निर्माणलगायत काममा केन्द्रित रहेको बताएका छन् ।
उनले दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार जनताका निराशा अन्त्य गर्दै आर्थिक विकास मार्फत जीवनस्तर उकास्ने काममा प्रयासरत रहेको उल्लेख गरे । सरकारविरुद्ध कसैले नकारात्मक प्रचार गरे त्यो निराधार हुने धारणा राख्दै महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म निरन्तर रहने दाबी गरे । सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार निरन्तर रहने उनले बताए ।
पछिल्लो समय वर्तमान सरकारको नीति र योजनाका कारण मुलुक आर्थिक रूपमा सबल बन्नुका साथै राजस्व सङ्कलनमा वृद्धि भएको महासचिव पोखरेलले दाबी गरे । उनले दाङको टरिगाउँ विमानस्थललाई विस्तार गरिने जनाउँदै पिउने पानी र सिँचाइका लागि पनि विभिन्न योजना बनाइएको बताए ।
लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा जग्गाको कित्ताकाट्को काम आगामी आर्थिक वर्षदेखि नै अगाडि बढाइने महासचिव पोखरेलले बताए । प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममा यो विषय समावेश गरेको उनले जानकारी दिए ।