काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा छापा मारेको छ । सेटिङमा भिजिट भिसामा विदेश पठाइदिने भन्दै अध्यागमन कार्यालयकै अधिकारीहरुको संलग्नतामा नेपाली नागरिकलाई विदेश पठाउने काम भइरहेको सूचनाको आधारमा आयोगको टोलीले बुधबार दिउँसो विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा छापा मारेको हो ।
त्यस लगत्तै प्रहरीले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको थियो । भट्टराई मंगलबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयबाट मन्त्रालयमा सरुवा भएका थिए । उनी मंगलबारसम्म सो कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।
बुधबार दिउँसो पक्राउ परेका सहसचिव भट्टराई बोलाएको बखत उपस्थित हुनेगरी साँझ भने छुटेका छन् । उनलाई बिहीबार अख्तियारमा उपस्थित हुन भनिएको स्रोतले जानकारी दिएको छ । अख्तियारले विमानस्थल अध्यागमन कार्यालयबाट कम्प्युटरलगायत विद्युतीय डिभाइस र कागजातसमेत नियन्त्रणमा लिएको छ ।