काठमाडौं । एभरेस्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सोमबार बागमती प्रदेशको सिन्धुली जिल्लाअन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो एक सय ३२ औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यो शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्तरूपमा उद्घाटित सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीलगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले बैंकको उपस्थितिसँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गरे । साथै, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेस्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै यहाँका बासिन्दाहरूलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे ।