दमौली (तनहुँ) । नगरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाएपछि बुधबार आयोजित एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनाका दुई हजार ८२८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको नगरपालिकाका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी गराइन।
कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना सुनिश्चितताका लागि प्रतिबद्धतापत्रमा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेललगायत वक्ताले हस्ताक्षर गरेका छन् ।