काठमाडौं । अख्तियार राजनीतिको छायामा परेको भनेर पछिल्ला समयमा गम्भीर आरोप लाग्ने गरेको छ । कतिपय घटनाहरूले त्यसलाई पुष्टि पनि गर्दै आउने गरेका छन् । उदाहरण दिनुपर्दा सरकारी जग्गा निजी व्यक्तिलाई दिने काम गर्दा दुई जना पूर्वप्रधानमन्त्रीलाई जोगाइदिएको कुरा बढी मात्रामा उल्लेख हुने गरेको थियो ।
त्यसमा हालै दुई मन्त्रीलाई समेत उन्मुक्ति दिएको घटना थपिएको छ । त्यसमाथि पनि एक जनालाई त अख्तियारले ‘विशेष’ कृपा नै गरेको देखियो ।
हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसनधान सकिएको भनिएको लामो समयपछि टेरामक्स खरिद प्रकरणमा एक पूर्वमन्त्रीसहित १६ जनालाई मुद्दा हाल्यो जसको बिगो नै जनही सवा तीन अर्बको छ । यसको अर्थ अख्तियारबाट पछिल्लो समय गरिएको मुद्दामध्ये यो धेरै ठूलो हो ।
अनुसन्धान टुङ्ग्याएको भनिएको करिब १५ महिनापछि विशेष अदालतमा यो प्रकरणको भ्रष्टाचार मुद्दा दायर भयो । प्रमुख आयुक्तले नै २०८० फागुन १५को लेखा समिति बैठकमा यो प्रकरणको अनुसन्धान सकिएको भनेका थिए । अनुसन्धान सकिएको भनिएको मुद्दा भने २०८२ जेठ १ गते मात्र दर्ता भयो । अनुसन्धान सकिएको भनिएको मुद्दा यतिका दिनपछि दर्ता भएको घटना पनि पछिल्लो समयको पहिलो नै हो । त्यस कारण कसैलाई विशेष कृपा गर्न खोजिएको अवस्था रहेको भनिएको हुनुपर्छ ।
यो प्रकरणमा लगातार तीन जना सञ्चारमन्त्रीको संलग्नता देखिन्छ । यी तिनै मन्त्रीले आफ्नो समयमा टेरामक्स खरिदमा आ–आफ्नो भूमिका निर्वाह गरिरहे तर मुद्दा भने तीमध्येका एक जनाविरुद्ध मात्र गयो ।
जोगिने दुई मन्त्रीमध्ये एक जना हुन् गोकुल बास्कोटा । तत्कालीन सञ्चारमन्त्री बास्कोटा तत्कालीन प्रधानमन्त्रीको बालकोटस्थित घर कुरुवा पनि हुन् । सञ्चारमन्त्री भएपछि उनी त्यही घरमा बसेका थिए । सम्भवतः यसै कारण यो मुद्दामा हालका प्रधानमन्त्री ओलीले बास्कोटामाथि संरक्षण गरेको चर्चा अख्तियारमा समेत चलिरहेको नै भनेर रिपोर्ट आइरहेका छन् ।
यो मुद्दाको उजुरी २०७५ पुसमा दर्ता भएको हो । त्यसबेला सञ्चारमन्त्री थिए बास्कोटा । साढे ५ वर्ष लामो अनुसन्धानपछि अख्तियारले दुई सय २२ पेज लामो अभियोगपत्र विशेष अदालतमा पुर्याउँदा यी बास्कोटाले भने सफाइ पाए । यद्यपि सफाइ पाउनेमा अर्का पनि एक सञ्चारमन्त्री छन् । तर, बास्कोटा भने यो समेत गरेर दुई पटक ठूला काण्डबाट जोगाइएको अवस्था देखियो ।
यो कार्यक्रम नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कल मोनिटरिङ र डाटाको प्रयोगबारे अनुगमन गर्ने टेरामक्स प्रविधि खरिदको हो, जसमा सञ्चार मन्त्रालयबाट बजेट तथा कार्यक्रमको स्वीकृति दिइएको थियो ।
त्यसैमा मन्त्री बास्कोटाले टेरामक्स खरिदको प्रक्रियाबारे निर्णय गरेका थिए । त्यसबेला टेरामक्स खरिदका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट पेस भएको बजेट तथा कार्यक्रम अनुमोदन मात्र भएन प्राधिकरणबाट मागिएको २५ करोडमा अर्को, माग्दै नमागिएको ४५ करोड थपिदिएर कुल ७० करोड रुपैयाँ खर्च गर्न अनुमति दिएका थिए ।
२५ करोडमा सम्पन्न हुने कार्यक्रमलाई अर्को ४५ करोड थपिदिएर ७० करोड पुर्याइदिएको घटना सामान्य होइन । तर अख्तियारले भने यसलाई यति सामान्य मान्यो कि उसका लागि यो भ्रष्टाचारको अभियोग लाग्ने विषय नै भएन ।
त्यस कारण बास्कोटा अख्तियारको विशेष कृपाप्राप्त पात्र मानिएका हुनुपर्छ ।
बास्कोटा यसअघिको एउटा ‘७० करोड काण्ड’को अनुसन्धानबाट पनि अख्तियारले जोगाएका पात्र हुन् । यी दुई काण्ड जोडियो भने उनको बिगो एक अर्ब ४० करोडको बन्दछ । टेरामस्कको ७० र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसँग जोडिएको ७० करोडको कुल जोड हो यो ।
बास्कोटाले प्रत्यक्ष वार्ता गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसँग सम्बन्धित बहुचर्चित ‘७० करोड’ काण्ड सार्वजनिक भएको गएको फागुनमा ५ वर्ष पूरा भयो । अब यो काण्ड छैटौँ वर्षमा हिँड्दैछ ।
२०७६ फागनु ८मा घुस मोलमोलाइ गरेको अडियो टेप सार्वजनिक भएपछि तत्कालीन सूचना तथा सञ्चारमन्त्री बास्कोटाले मन्त्रीपदबाट राजीनामा दिएका थिए । त्यो अडियो टेप सत्य थिएन भने किन राजीनामा दिए र सत्य थियो भने किन अनुसन्धान भएन भन्ने जवाफ अख्तियारले अहिलेसम्म दिएको छैन । यो काण्डको उजुरी त्यसैबेला अख्त्यिारमा पुगेको थियो ।
बनेपास्थित आईटी पार्कमा स्थापना हुने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गरेमा प्राप्त हुने कमिसनबारे कुराकानी गर्दाको अडियो रेकर्ड ८ फागुन, २०७६मा सार्वजनिक भएको थियो ।
उक्त अडियो रेकर्डमा मन्त्री बास्कोटाले कमिसनबापत ५४/५५ करोड मात्रै प्राप्त हुने भएपछि लागत बजेट बढाएर एक अर्ब बनाउन आग्रह गरेका थिए ।
यो ५ वर्षको अवधिमा बास्कोटा जोडिएका सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित अधिकारीका भ्रष्टाचारका मुद्दाहरू विशेष अदालतमा विचाराधीन छन् भने केही सर्वोच्च अदालत पुगेका छन् । यसको अर्थ हो यो मुद्दा पनि अख्तियारको घेरामा परेको छ तर आपूर्तिअघि नै प्रिन्टिङ प्रेस कम्पनीका एजेन्टसँग कमिसनको मोलमोलाइ गर्ने बास्कोटामाथिको छानबिन भने उजुरीमा मात्रै सीमित रह्यो, कसैको कृपाका कारण अघि बढेन ।
त्यसयता अख्तियारमा तीनजना प्रमुख आयुक्त बने । नवीनकुमार घिमिरे, कार्यबाहक प्रमुख डा. गणेशराज जोशी र प्रेमकुमार राई गरी तीनवटा नेतृत्व आए । यी तीनवटैको नियुक्ति केपी ओलीबाट भएको थियो ।
बास्कोटाले कुल लागतमा एक अर्ब बढाएर पेस गर्न र सोअनुसार आफ्नो पनि कमिसन बढाउन भन्दै सम्बन्धित एजेन्टसँग निर्भिकताका साथ भनेका छन् । बितेको पाँच वर्षदेखि यस्तो अडियो अख्तियारमै छ तर त्यसको छानबिन भने भएको छैन ।
त्यो टेप–वार्ता
तत्कालीन सूचना तथा सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाणका रूपमा यो वार्तालापको विवरण सबैभन्दा पहिले हाम्राकुरा डटकमले प्राप्त गरेको थियो ।
एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटिङ गरेको अडियो त्यसपछि प्राय सबै माध्यममा प्रकाशित भएका थिए । स्वीस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बास्कोटाले कुन ट्र्याकबाट कमिसन बढी निकाल्नेसम्मको सल्लाह गरेका टेप–वार्तामा नै सुनिन्छ ।
उताबाट यो मेसिन किन्दा ७० देखि ७५ करोड कमिसन आउने र त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव आएपछि मन्त्रीले आफूलाई ७० करोड चाहिने र त्यसका लागि एक अर्ब लागत बढाइदिए पनि आफूले त्यसलाई स्वीकृति दिनेसम्म भनिएका छन् ।
मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्रबीच भएको संवाद :
– विजयप्रकाश मिश्र शर्मा: यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ । स्वीस एम्बेसीले बोलाएर आउँछ, तपाईँले बोलाएर आउने हैन ।
– मन्त्री गोकुल बास्कोटा: हँ...
– विजयप्रकाश मिश्र शर्मा: सकेसम्म एमओयू गर्ने कि भन्ने हिसाबले आउन थालेको छ । तपाईँहरूको कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ ।
– मन्त्री गोकुल बास्कोटा: ठीक छ ।
– विजयप्रकाश मिश्र शर्मा: त्यसका लागि तपाईँले टाइम मिलाइदिनुपर्यो ।
– मन्त्री गोकुल बास्कोटा: मिलाइदिन्छु ।
– विजयप्रकाश मिश्र शर्मा: त्यसका लागि (कमिसनका लागि) हामी आउट अफ ट्र्याक जाने कि, तपाईँले भनेअनुसार नै गर्ने ? लु भन्नुस् ।
– मन्त्री गोकुल बास्कोटा : अब । क्यापासिटीको कुरा ।
– विजयप्रकाश मिश्र शर्मा: कुराचाहिँ मैले राखेको छु उनीहरूलाई ।
– मन्त्री गोकुल बास्कोटा: उनीहरूलाई नर्मलमा ५० भन्ने ?
– विजयप्रकाश मिश्र शर्मा: त्यसमा नर्मलमा
– मन्त्री गोकुल बास्कोटा: उनीहरूले कति निकाल्छन् ?
– विजयप्रकाश मिश्र शर्मा: यसको टोटलको पर्सेन्ट निकाल्ने हो ।
– मन्त्री गोकुल बास्कोटा: टोटल कति निस्कन्छ त्यो हेरौँ ।
– विजयप्रकाश मिश्र शर्मा: केही न केही त भइराछ त्यही बेसमा जाने हो । बेसचाहिँ तपाईँहरूको उसमै जाने हो हामी ।
– मन्त्री गोकुल बास्कोटा: सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो । मानौँ २५ निस्क्यो भने कति हुन्छ ?
– विजयप्रकाश मिश्र शर्मा: ७० जति आउला कि ? आउट अफ ट्र्याक नजाँदा ७० जति आउला कि ।
– मन्त्री गोकुल बास्कोटा: तपाईँलाई के गर्छन् ? छुट्टै गर्छन् ?
– विजयप्रकाश मिश्र शर्मा: टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा ७० प्रतिशत, तपाईँहरूलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो । यो एकदमै ट्रान्सपरेन्ट हुन्छ ।
– मन्त्री गोकुल बास्कोटा: त्यो भनेको कति हुन्छ ?
– विजयप्रकाश मिश्र शर्मा: ५४ देखि ५५ करोड तपाईँहरूलाई दिने १५ देखि १६ हामीले राख्ने । हामीले पनि त अलिअलि राख्नुपर्यो नि । आउट अफ ट्र्याक गइयो भने...
– मन्त्री गोकुल बास्कोटा: अनि यो कर्मचारीसँग कसले कुरा गर्छ नि ?
– विजयप्रकाश मिश्र शर्मा: त्यो कुरा तपाईँ गर्नुस् ।
– मन्त्री गोकुल बास्कोटा: एउटा के नगर्नुस् भने यी मु... कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने यिनले हेप्छन् । त्यस कारण यो कुरामा तपाईँ आफैँ लाग्नुस् । कुरा बुझ्नुभो..
– विजयप्रकाश मिश्र शर्मा: त्यसो भए म आफैं लाग्छु । उसले त बनाएर राखिसकेको छ ।
– मन्त्री गोकुल बास्कोटा: त्यो मु.. ले बनाएको त ३५ अर्बको छ । अब यता २७ अर्ब निस्क्यो भने २८ अर्बको बनाउनुस् ।