गण्डकी । ताराखोला गाउँपालिकाद्वारा शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताएका छन् ।
पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको भन्दै उनले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको विस्तार र कालोपत्र गर्न सरकारसँग रकम माग्ने बताए । अध्यक्ष दाहालले स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले पनि यो सडक महत्वपूर्ण रहेको बताए । उनले भौगोलिक कठिनाइ र सीमित स्रोतसाधन हुँदा पनि विकास निर्माण र सेवा प्रवाहमा ताराखोला गाउँपालिकाले उदाहरणीय काम गरेको बताए ।
पार्टीले सुरू गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानले माओवादी केन्द्रको जनतासँगको सम्बन्धलाई सुदृढ बनाएको उनले बताए । उनका अनुसार स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप २० किलोमिटर लामो उक्त सडक चार वर्ष अघि नै कालोपत्र गरिने सडकका रूपमा छनोट गरिएको थियो ।