चितवन । भरतपुर विमानस्थलमा ठूला जहाजको उडानलाई निरन्तरता दिने प्रयास भइरहेको छ । विभिन्न एयरलाइन्सले बेलाबेलामा ठूला जहाज उडान गरे पनि नियमित गरेका छैनन् । केही महिनाअघि तामझामका साथ श्री एयरलाइन्सले परीक्षण गरेर ८० सिटे जहाज उडान सुरु गरेको थियो । तर, अहिले बन्द भएको छ ।
सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयास सुरु गरेको हो । हाल ४७ सिटको एटीआर–४२ बाट उडान भर्दै आएको बुद्ध एयरले बिहीबार ७२ सिट क्षमताको एटीआर–७२ बाट परीक्षण उडान गरेको छ ।
भरतपुर विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार दुई सय मिटर छ । एटीआर ७२ जहाजलाई सहज उडान र अवतरणका लागि कम्तीमा एक हजार पाँच सय मिटर धावनमार्ग आवश्यक पर्छ । एटीआर–७२ जहाजको अवतरणपछि क्याप्टेन प्रमोद थापाले सहजरूपमा उडान र अवतरण गर्न सकिएको बताए । जहाजमा सँगै रहेका नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको निर्देशनअनुसार आफूहरूले जहाज उडान र अवतरण गरेको उनले प्रतिक्रिया दिए ।
सोही अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशक देवचन्द्रलाल कर्णले यो परीक्षण उडानको सम्पूर्ण विवरण अध्ययन गरी बाँकी निर्णयमा पुगिने बताए । सम्भावना रहेमा दुई महिनाभित्रमा नियमित उडान गर्न सकिने उनको भनाइ छ । बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्त बस्नेतका अनुसार हाल दैनिक सात उडान काठमाडौं–भरतपुर र एउटा भरतपुर–पोखरा एटीआर–४२ बाट उडान हुँदै आएको छ ।