वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रति सिरिल रामाफेसाबीच ह्वाइटहाउसमा भएको भेटवार्ताको क्रममा चर्को भनाभन भएको छ । ट्रम्पले दक्षिण अफ्रिकाका गोरा किसानहरुमाथि व्यापक हिंसा भएको भन्दै भिडियो देखाएपछि दुई राष्ट्रपतिबीच भनाभन भएको थियो ।
भिडियोमा ट्रम्पले श्वेत मानिसहरूविरुद्ध नरसंहार भइरहेको प्रमाणित गरेको र यसले किसानहरूलाई संयुक्त राज्य अमेरिकामा भाग्न बाध्य बनाइरहेको दाबी गरेका थिए । यो असाधारण स्टन्टले दक्षिण अफ्रिकी श्वेत किसानहरूलाई उनीहरूको जग्गा छोड्न बाध्य पारिएको र मारिएको ट्रम्पको तर्कका लागि ओभल अफिसको सामान्यतया शान्त कूटनीतिक वातावरणलाई तनावग्रस्त मञ्चमा परिणत गर्यो ।
पत्रकारहरूको उपस्थितिमा ट्रम्पले दक्षिण अफ्रिकाका अश्वेत राजनीतिज्ञहरूले श्वेत मानिसहरूको उत्पीडनका लागि आह्वान गरेको भन्दै कर्मचारीहरूलाई चार मिनेटको भिडियो ठूलो स्क्रिनमा राख्न लगाएका थिए ।
‘तपाईँले उनीहरूलाई जमिन लिन अनुमति दिनुहुन्छ र त्यसपछि जब उनीहरूले जमिन लिन्छन् उनीहरूले श्वेत किसानलाई मार्छन् र जब उनीहरूले सेतो किसानलाई मार्छन्, उनीहरूलाई केही हुँदैन’, ट्रम्पले भने ।
ट्रम्पले समाचार क्लिपिङहरू पनि देखाउँदै आफ्नो दाबीलाई पुष्टि गर्न खोजेका थिए । ट्रम्पको प्रशासनले यस महिनाको सुरुमा ५० भन्दा बढी श्वेत अफ्रिकीलाई शरणार्थी दर्जा प्रदान गरेको छ भने विश्वका अन्य भागहरूबाट शरणार्थीहरू लिन प्रभावकारीरूपमा बन्द गरेको छ ।
तर दक्षिण अफ्रिकी राष्ट्रपतिले ट्रम्पको दाबीलाई अस्वीकार गरे । फेब्रुअरीमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग ट्रम्पले गरेको विवादलाई बेवास्ता गर्दै सुरुमा यो कदमबाट स्तब्ध देखापरेपछि उनी शान्त रहे ।
रङ्गभेद शासनको ऐतिहासिक असमानता निवारण गर्ने उद्देश्यले जनवरीमा हस्ताक्षर गरिएको जग्गा कब्जा कानुनअन्तर्गत आफ्नो देशले श्वेत किसानहरूबाट जग्गा जफत गरेको कुरा रामाफोसाले अस्वीकार गरे । उनले दक्षिण अफ्रिकाको कुख्यात उच्च अपराध दरका अधिकांश पीडितहरू अश्वेत हुन् भनी जोड दिँदै भिडियोमा रहेका राजनीतिज्ञहरू विपक्षी दलका भएको बताए ।
‘हामी मूलतः संयुक्त राज्य अमेरिका र दक्षिण अफ्रिकाबीचको सम्बन्धलाई पुनःस्थापित गर्न यहाँ आएका छौँ’, रामाफोसाले भने । तर रामाफोसाले भिडियो चलिरहँदा बारम्बार बोल्न खोजिरहँदा ट्रम्पले उन बोल्न दिएनन् ।
भिडियोमा उग्र वामपन्थी विपक्षी सांसद जुलियस मालेमालाई ‘बोअरलाई मार, किसानलाई मार’ गाएको देखाइएको थियो । यो रङ्गभेदी युगको श्वेत–अल्पसंख्यक शासनविरुद्धको लडाइँको समयको कुख्यात नारा हो ।
भिडियो दक्षिण अफ्रिकामा भएको एक प्रदर्शनका तस्बिरहरूसँग समाप्त भयो जहाँ मारिएका किसानहरूको प्रतिनिधित्व गर्न ग्रामीण सडकको छेउमा सेता क्रसहरू राखिएका थिए, तर ट्रम्पले गलतरूपमा उनीहरूका चिहानहरू देखाएको भने ।