काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी करिब चार खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी छ अर्ब ३० करोड ७० लाख रुपैयाँ बढेर तीन खर्ब ८५ अर्ब ३२ करोड ७० लाख रुपैैयाँ पुगेको छ । गत आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासको अन्त्यमा तीन खर्ब ७९ अर्ब दुई करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको तेस्रो त्रैमासमा नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ । जुन एक वर्षअघि पनि यही चुक्तापुँजी थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी अहिले पनि सोही परिमाणमा छ ।
नबिल र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः २७ अर्ब पाँच करोड ७० लाख र ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ । यसअघि पनि यी दुई बैंकको चुक्ता पुँजी सोही परिमाणमा थियो । स्ट्यान्र्डड चार्टड बैंकको चुक्ता पुँजी पनि १० अर्ब चार करोड २३ लाख ७० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा चार्टर्डको चुक्ता पुँजी नौ अर्ब ४२ करोड ९४ लाख ५० हजार रुपैयाँ थियो ।
हिमालयन र नेपाल एसबीआई बैंकको चुक्ता पुँजी पनि पछिल्लो अवधिमा क्रमशः २१ अर्ब ६५ करोड ६६ लाख र १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा पनि यी दुई बैंकको चुक्ता पुँजी सोही परिमाणमा थियो । गत आवको तेसो त्रैमासमा ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ रहेको एभरेस्ट बैंकको चुत्ता पुँजी अहिले बढेर १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा एनआईसी एसिया, माछापुच्छ्रे र कुमारी बैंकको चुक्ता पुँजी क्रमशः १४ अर्ब ९१ करोड ७५ लाख, ११ अर्ब ६२ करोड १३ लाख र २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ । एक वर्षअघि पनि यी बैंकहरूको चुक्ता पुँजी त्यति नै थियो । गत आवको तेस्रो त्रैमासमा २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ रहेको लक्ष्मी सनराइज बैंकको चुक्ता पुँजी भने पछिल्लो अवधिमा बढेर २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । सिद्धार्थ बैंकको चुक्ता पुँजी भने पछिल्लो अवधिमा १४ अर्ब आठ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा पनि बैंकको चुक्ता पुँजी १४ अर्बकै हाराहारीमा रहेको थियो ।
कृषि विकास, ग्लोबल र सिटिजन्स बैंक इन्टरनेसनलको चुक्ता पुँजी पछिल्लो अवधिमा बढेर क्रमशः १९ अर्ब २८ करोड ७९ लाख, ३८ अर्ब ११ करोड ५८ लाख र १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो चुक्ता पुँजी क्रमशः १८ अर्ब ८८ करोड ४३ लाख, ३६ अर्ब १२ करोड ८७ लाख र १४ अर्ब २० करोड नौ लाख रुपैयाँ थियो ।
प्राइम र एनएमबी बैंकको चुक्ता पुँजी भने पछिल्लो अवधिमा क्रमशः १९ अर्ब ४० करोड २५ लाख र १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा पनि यी दुई बैंकको चुक्ता पुँजी सोही परिमाणमा रहेको थियो । राष्ट्र बैंकका अनुसार प्रभु र सानिमा बैंकको चुक्ता पुँजी पनि पछिल्लो अवधिमा क्रमशः २३ अर्ब ५४ करोड २४ लाख र १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमासमा पनि यी दुई बैंकको चुक्ता पुँजी सोही परिमाणमा थियो ।