काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिबार बसेको रास्वपा सचिवालयको ‘भर्चुअल’ बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका लेखकलाई तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन माग गरेको छ ।
‘विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ कार्यवाहक प्रवक्ता मनीष झाले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौँ ।’
गृहमन्त्री र उनका सचिवालयमाथि ‘भिजिट भिसा’मार्फत् मानव तस्करीमा संलग्न रहेको आरोप लागिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।