काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा मानव तस्करी गरेको विषयमा गृहमन्त्री रमेश लेखक मुछिएका छन् । विमानस्थलमा कार्यरत कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेसँगै उनको संलग्नता माथि पनि आशंका उब्जिएको हो ।
उनी गृहमन्त्री भएपछि विमानस्थलको अध्यागमन कार्यालयमा सरुवा भएका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले छापा मार्नुभन्दा एक दिन अघि गृह मन्त्रालयमा तानेपछि गृहमन्त्रीको भूमिकामाथि आशंका उब्जिएको हो । अख्तियारले छापा मार्ने गोप्य सूचना पाएपछि भट्टराईलाई मन्त्रालय तानिएको आरोप लागेको छ । त्यसैले मानव तस्करीमा गृहमन्त्री लेखकको संलग्नता रहेको भन्दै उनकै पार्टी नेपाली कांग्रेससहित विपक्षी दलका नेताहरुले उनको राजीनामा मागेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा पठाएकाबाट रकम असुलीको आरोप लागेका मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएसँगै गृह मन्त्रालयले कर्मचारी सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार दुई चरणमा १४ जनालाई सरुवा गरेको हो भने भट्टराईलाई यसअघि नै सरुवा गरिसकेको थियो । मन्त्रालयले मंगलबार राति नै प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई तानेर उनका ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई सरुवा गरेको थियो ।
भट्टराईलाई ७ गते बुधबार अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतबाट मंगलबार साँझ मात्रै गृह मन्त्रालयका तानिएका सहसचिव भट्टराईलाई आयोगले बुधबार सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । अख्तियारले बिहीबार उपस्थित हुने सर्तमा साँझ रिहा गरेको हो । भट्टराईलाई अख्तियारको टंगालस्थित कार्यालयको हिरासतमा राखेर सोधपुछ गरिएकोमा बिहीबार उपस्थित हुने सर्तमा छाडिएको थियो ।
अख्तियारले विमानस्थलको प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई नियन्त्रणमा लिएसँगै थप कारबाही अघि बढाउने योजनामा रहेको छ । सोही समयमा गृहले विमानस्थल अध्यागमनमा कार्यरत कर्मचारीको सरुवा गरेको हो । गृहले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूको संलग्नता भएको आशंकापछि नायब सुब्बा र कम्प्युटर अपरेटरको पनि सरुवा गरेको हो ।
नायब सुब्बा प्रेमप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा, नायब सुब्बा वीरभद्र जोशी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा, नायब सुब्बा नरबहादुर थापा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएका छन् । कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, धनराज उपाध्याय र सहायक कम्प्युटर कमला श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ ।
त्यस्तै, नायब सुब्बा सुबराज श्रेष्ठ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, नायब सुब्बा दत्त लामा जिल्ला प्रशासन कार्यालय जाजरकोट, नायब सुब्बा गोविन्दप्रसाद अधिकारी जिल्ला प्रशासन कार्यालय गोरखा, नायब सुब्बा तेजराज गौतम जिल्ला प्रशासन कार्यालय बाग्लुङ, नायब सुब्बा सुवास केसी जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिम, नायब सुब्बा कुवेरप्रसाद दाहाल जिल्ला प्रशासन कार्यालय धनकुटामा सरुवा गरिएको छ ।
त्रिभुवन विमानस्थलबाट गैरकानुनीरूपमा भिजिट भिसामा संयुक्त अरब इमिरेटस (यूएई), कतारलगायतका मुलुक पठाउन मानवतस्करसँग सेटिङ गरेको, त्यसबापत प्रतिव्यक्ति २० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म असुल्ने गरेकोलगायत आरोपमा उजुरी परेपछि अख्तियारले यस विषयमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा सहसचिव भट्टराईसहित विमानस्थलका अन्य कर्मचारी समेत अनुसन्धान दायरामा तानिएका छन् । अनुसन्धानका क्रममा भिजिट भिसामा कर्मचारी समेतको मिलेमतोमा सेटिङ हुने गरेको तथ्यहरू फेला परेसँगै अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो ।
अख्तियारले बुधबार नै विमानस्थल अध्यागमनमा छापा मारेर विद्युतीय उपकरण (डिभाइस) र अन्य कागजातहरू पनि नियन्त्रणमा लिएको छ । त्यस क्रममा अख्तियारले काठमाडौंबाट एउटा ट्राभल एजेन्सी र भक्तपुरमा अरू दुई जना व्यक्तिका घरबाट पनि डिभाइस र अरू कागजातहरू नियन्त्रणमा लिएको हो । बुधबार पक्राउ गरेर हाजिरीजमानीमा राखिएका भट्टराईसहित भक्तपुरका खगेन्द्र सुवेदी, सीआईटी कलेजमा कार्यरत कविता पौडेल र हात्तीसारमा रहेको ट्राभल एजेन्सी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्कालाई अर्को साता उपस्थित हुने गरी अख्तियारले तारिखमा राखेको छ । भिजिट भिसाको नाममा मानव तस्करहरूले वैदेशिक रोजगार व्यवसायी, ट्राभल एजेन्सी र सरकारी कर्मचारीको मिलेमतोमा मानव तस्करहरूले भिजिट भिसाको नाममा मानव तस्करी गरेको पाइन्छ । यसअघि पनि त्रिभुवन विमानस्थल कर्मचारी, अध्यागमन, नेपाल वायुसेवा निगमका कर्मचारी र ट्राभल एजेन्सीलगायतका व्यक्तिहरू पक्राउ परेका थिए ।
‘मैले गलत गरेको छैन’
धनुषा । गृहमन्त्री रमेश लेखकले आफूबाट कुनै गलत काम नभएको र त्यस्तो भएमा जीवनभर राजनीतिमा देखा नपर्ने बताएका छन् । भिजिट भिसामा प्रकरणमा आफ्नो नाम जोडिएकाले गृह मन्त्रालयले आजै विज्ञप्तिमार्फत त्यसबारे प्रस्ट्याउने उनले बताए ।
शनिबार धनुषामा भएको कार्यक्रममा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएकोबारे केही दिनमा आफूले पनि बोल्ने बताएका हुन् । ‘मैले जीवनभरि राजनीति गर्दा पार्टीका कुनै पनि साथीको मन सानो हुने र शिर निहुरिने काम गर्दिनँ,’ उनले भने, ‘जुन दिन मेरो हातबाट गलत काम हुन्छ, त्यसै दिनदेखि म राजनीतिमा देखापर्दिनँ ।’
उनले भने ‘यसमा साथीहरू आत्तिनुपर्ने कुनै कारण छैन । जुन दिन म यहाँ आएँ, त्यस्तो कुनै गलत काम हुन्छ भने त्यो दिनदेखि म राजनीतिमा देखापर्दिनँ । उठेका सबै विषय ठिक ढंगबाट छानबिन हुन्छ ।’ यसअघि पनि संगठित अपराधमा जोडिएका एक जना शाखा अधिकृत गृहमन्त्री लेखकको सचिवालयमा कार्यरत रहेको पाइएपछि उनको नाम पनि यो प्रकरणमा जोडिँदै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा पठाएकाबाट रकम असुली प्रकरणमा गृह मन्त्रालय जोडिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूले घुस लिएर भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गरिरहेको छ ।
अध्यागमनको अनियमिततामा मन्त्रालय नेतृत्व संलग्न छैन: गृह मन्त्रालय
गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएकोे अनियमिततामा मन्त्रालय नेतृत्वलाई जोडर आएका समाचारमा कुनै सत्यता नभएको दाबी गरेको छ ।
मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार विज्ञप्ति जारी गर्दै विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्य–तथ्य व्यहोरा सबैको जानकारीमा आउने उल्लेख छ । विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार र क्रियाप्रतिक्रियाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
गृहले उक्त समाचारलाई कपोलकल्पित, भ्रामक र आधारहीन भनेको छ । समाचार प्रकाशित र प्रसारित भएकोप्रति दुःख व्यक्त गर्दै गृहले भनेको छ, ‘यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ ।’
गृह प्रशासन निरन्तर शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि क्रियाशील रहेको र सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत भइरहेको विज्ञप्तिमा उल्लेख छ । अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा आउने गृहले विश्वास व्यक्त गरेको छ ।