काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मुलुकको आर्थिक र वित्तीय प्रणालीलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई भेटी चेम्बरले मुलुकको समग्र आर्थिक विकास, मुद्रास्फीति नियन्त्रण, विदेशी मुद्रा सञ्चिति सुदृढीकरण, वित्तीय पहुँचको विस्तार तथा वित्तीय समावेशिताजस्ता राष्ट्रिय प्राथमिकता भएका विषयमा रणनीतिक योजनासहित काम गर्न सुझाव दिएको हो । चेम्बरका कार्यवाहक अध्यक्ष दिपक कुमार मल्होत्राले मुलुकको आर्थिक र वित्तीय प्रणालीलाई चलायमान बनाउन नवनियुक्त गभर्नर डा पौडेलको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको भूमिका अझ महत्वपूर्ण हुने विश्वास हामीले लिएका छौँ ।’
अर्थतन्त्र चलायमान गराउने चुनौती कायमै रहेको सन्दर्भमा आगामी बजेट र मौद्रिक नीतिबीचको तालमेलमार्फत अर्थतन्त्रलाई निकासा दिनुपर्ने उनको भनाइ थियो । राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणालीको प्रवर्द्धन, सूक्ष्म, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचमा सुधार तथा समावेशी वित्तीय नीतिको विकासमा अग्रगामी भूमिका निर्वाह गर्ने अपेक्षा रहेको चेम्बरले जनाएको छ । नेपाल राष्ट्र बैंकको भूमिकालाई सुदृढीकरण गरी समन्वयकारी भूमिकामा केन्द्रिकृत गरिनुपर्ने कार्यवाहक अध्यक्ष मल्होत्राले बताए । करिब चार वर्षदेखि केन्द्रीय बैंकको संकुचित नीतिहरूका कारण लामो समयदेखिको विद्यमान आर्थिक शिथिलताका कारण निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै चेम्बरले उद्यमी व्यवसायीहरूमा आत्मविश्वास वृद्धि गरेर संकुचित कर्जा प्रवाहलाई वृद्धि गराउनुपर्ने जोड दिएको छ । चालु पुँजी कर्जा निर्देशिकालाई खारेज गर्न समेत चेम्बरले माग गरेको छ ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय, तथा आर्थिक क्षेत्रमा ज्ञाता एवं अनुभवी व्यक्तित्वका रूपमा यहाँले मुलुकको आर्थिक नीति निर्माण, वित्तीय सुशासन प्रवद्र्धनमा पुर्याएको योगदान उल्लेखनीय रहेको छ । राष्ट्र बैंकको गभर्नर पदमा तपाईंको नियुक्ति वित्तीय क्षेत्रमा दीर्घकालीन सुधार र स्थायित्व कायम गर्नेतर्फको एक महत्वपूर्ण कदमका रूपमा हामीले लिएका छौँ ।’ चेम्बरका कार्यवाहक अध्यक्ष मल्होत्रासहितको पदाधिकारी टोलीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा गएर डा पौडेललाई बधाई एवं सुझावसहितको शुभकामना दिएको हो ।