काठमाडौं । सर्वोच्च अदालतको शुक्रबारको आदेशअनुसार सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराधको मुद्दामा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल जेलमुक्त नहुने भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा नहकुल सुवेदी र बालकृष्ण ढकालको गत शुक्रबार अर्थात् जेठ ९ गते बसेको संयुक्त इजलासले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउने आदेश सदर गरेको हो । त्यसदिन आदेश हुनुपर्नेमा फैसला भएकाले सर्वोच्चले आइतबार त्यसलाई संशोधन गर्दै फैसला भन्ने शब्दलाई आदेश कायम गरिदिएको छ ।
उच्च अदालतको उक्त आदेशविरुद्ध रविको तर्फबाट उनकी श्रीमती निकिता पौडेल बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च पुगेकी थिइन् । धेरैतिरको अदालतमा उनको मुद्दा चलिरहेको कारण रवि तत्काल जेल मुक्त हुने सम्भावना कम छ ।