वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा यातायात व्यवस्था कार्यालय बारा कलैयाले आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रद ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको कार्यालय प्रमुख अविन्दर दासले जानकारी दिए ।
कार्यालयले औषतमा मासिक ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको उनले बताए । कार्यालयले चालु आवमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ एक करोड ६९ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ भने चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व सङ्कलन गरेको छ । त्यस्तै अनुमतिपत्र पास थपतर्फको शीर्षकमा २८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै आयकरतर्फ आठ लाख ६० हजार ५२५ र पटके करतर्फ ३९ लाख ९२ हजार ४० रकम राजस्व सङ्कलन गरेको छ भने अनुमतिपत्र दर्ता थप शीर्षकमा ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणतर्फ २७ लाख १६ हजार, सवारी विविधतर्फ आठ लाख २८ हजार ९५० राजस्व सङ्कलन गरेको छ ।