काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा नेपाल समाजवादी पार्टी र नेपा: राष्ट्रिय पार्टीले एकता गर्ने भएका छन् । उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार बसेको कार्यालयको बैठकले ती दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको जानकारी दिए।
उनले आजै गङ्गानारायण श्रेष्ठ नेतृत्वको समाजवादी पार्टी र विजय सैँजु नेतृत्वको नेपा: राष्ट्रिय पार्टीसँग एकता हुने बताए । बैठकले सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरू भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान प्रभावकारी बनेको निष्कर्ष निकालेको छ ।
प्रवक्ता सापकोटाले गण्डकी प्रदेशको कास्कीमा पुगेपछि पहिलो चरणको अभियान सम्पन्न हुने जानकारी दिँदै अब छिट्टै पोखराबाट पूर्वतर्फ अभियान सुरू हुने बताए ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको ‘भिजिट भिसा’ प्रकरणमा गृह मन्त्रालयको नेतृत्व पनि जोडिएको विषय सार्वजनिक भएकाले मार्गप्रशस्त गरी छानबिनमा सहयोग गर्न माओवादीले आग्रह गरेको छ ।