कृष्णनगर (कपिलवस्तु) । खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागीहुँदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ ।
घरमा खाना पकाउने क्रममा आइतबार राति ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले उपचारका लागि अस्पताल लैजाने क्रममा दुवै जनाको ज्यान गएको जानकारी दिए ।
उनले रेगुलेटर खोल्ने बित्तिकै ग्यास लिक भएर एक्कासी आगो लागेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताए । प्रहरीले घट्नास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । प्रधानाध्यापक लालचन्द्र पाण्डेले मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत रहेको जानकारी दिए ।