काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरबाट जेठ महिनाको अन्त्यसम्ममा सक्नेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
आइतबार बिहान फ्लाइओभर निर्माणको स्थलगत निरीक्षणका क्रममा उनले निर्माणका बाँकी कामहरू चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । ‘अब पनि ढिलाई गर्ने छुट छैन’ उनले भने, ‘परिस्थिति बाहिरको प्राकृतिक विपत्ती नआएमा जेठको अन्त्यसम्ममा गाडी चल्नुपर्छ । यो एउटा प्रतीक्षाको आयोजना पनि हो ।’ फ्लाइओभरअन्तर्गत ३५ मिटर स्पानको चार लेन प्रिकास्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भइरहेको छ । फ्लाइओभरमा ट्राफिक लाइट जडानको कार्य पनि हुनेछ । जेठभरिमा पूरा गरी लगत्तै फ्लाइओभरबाट सवारी साधन सञ्चालन हुने उनले बताए ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएका कारण निर्माणमा ढिलाइ भएको र त्यो समस्या समाधान गरिसकेको बताए । यस्तै, सडक विभागका महानिर्देशक रामहरी पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाइओभर महत्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागि परेको जानकारी दिए । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ भने हाल आवश्यक भागमा कालोपत्रेको काम भइरहेको छ । आशीष समानान्तर रेलिगेर जेभी काठमाडौंले फ्लाइओभर निर्माणको काम गरिरहेको छ । १७ करोड छ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण सुुरु भएको फ्लाइओभर सुरु ठेक्का सम्झौताबमोजिम २०८० फागुन ११ मा सम्पन्न हुनुपर्ने थियो । तर निर्धारित समयमा पूरा नभएपछि म्याद थप भई त्यसको निर्माण कार्य अघि बढेको हो ।
यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोसँगै थानकोटमा निर्माणाधीन फ्लाइओभर र नागढुंगा सुरुङको समेत निरीक्षण गरेका छन् । ग्वार्को फ्लाइओभरको निरीक्षणपछि मन्त्री दाहालले काठमाडौं प्रवेश गर्ने प्रमुखद्वारमध्ये थानकोटमा पुगेर निर्माणाधीन फ्लाइओभरको निरीक्षण गरेका थिए । त्यस क्रममा उनले सो फ्लाइओभर निर्माण पूरा भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको जाम हुने अवस्थाको अन्त्य हुने बताए । हाल सो फ्लाइओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भइरहेको छ । त्यसलगत्तै मन्त्री दाहालले नागढुंगा सुरुङ मार्गको समेत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले सो सुरुङमार्ग निर्माणसँगै नेपालको यातायात क्षेत्र आधुनिक सुरुङयुगमा प्रवेश गर्ने बताए । सुरुङ समेत मुख्य संरचना निर्माण भई सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ ।
मन्त्रालयका सचिव शर्माका अनुसार सुरुङ सञ्चालनको मोडालिटी निर्माण भइरहेको छ । सोही मोडालिटीअनुसार सुरुङबाट सवारीसाधन सञ्चालन गरिने उनले बताए । मन्त्रालयमार्फत सुरु भएको काठमाडौंका मुख्य योजनाहरू पूरा गराउन मन्त्रालयले ताकेता गरिरहेको उनले जानकारी दिए । संघीय राजधानीभित्रका महत्वपूर्ण मानिएका आयोजनाहरूको मन्त्रीसहितको मन्त्रालयको प्रतिनिधि टोलीले स्थलगत निरीक्षणलाई तिव्रता दिएको छ । सोहीअनुसार मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्वसहित मन्त्री दाहालले आइतबार विभिन्न पूर्वाधार योजनाहरूको निरीक्षण गरेका हुन् ।