काठमाडौं । याक अट्याक नामक विश्वकै सबैभन्दा उच्च हिमाली क्षेत्रमा आयोजना गरिदै आएको बहुदिवसीय साइकल प्रतियोगिता सुरु भएको छ ।
एमटिबी वर्डवाइड बेलायतले साइकल कल्चर कम्युनिटी नेपालसँग सहकार्य गरि आइतबारदेखि औपचारिक रुपमा सो साइक्लिङ प्रतियोगिता शुरु गरेको हो । प्रतियोगितामा अमेरिका, बेलायत, अस्ट्रेलिया, इटाली, जर्मनी, बेल्जियम, भारतलगायत देशहरूबाट समेत सहभागिता रहेको छ । उनीहरू नेपाली साइक्लिस्टसँग अन्नपूर्ण सर्किटमा साहसिक साइक्लिङ गर्न काठमाडौं आइपुगेका थिए । काठमाडौंमा भेला भई दर्ता पूरा गरेका उनीहरू उपत्यकाका आसपास साइक्लिङ गर्दै शनिबार लमजुङ पुगेर आइतबारदेखि औपचारिक रुपमा सुरु गरिएको साइक्लिङ प्रतियोगिता याक अट्याकमा सहभागी भएका छन् । एमटिबी वर्डवाइड बेलायतले दुई दशकदेखि नेपालमा बर्सेनी याक अट्याक प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यो प्रतियोगिता जेठ १९ गते पोखरा पुगेर समापन हुने जनाईएको छ ।
लम्जुङको घले गाउँ, चामे, मनाङ, याक खर्क, थोरोङला फेदी लगायतका मनोरम साइकल ट्रेल्सहरू हुँदै थोरोङला पास पार गरि मुक्तिनाथ, कागबेनी लुब्रा लुप, मार्फा गाउँ, तातोपानी, बेनी हुँदै ३७ जनाको समुह पोखरा पुग्नेछन् । त्यस क्रममा साहसिक उकालो, ओरालो, भञ्जाङ, खोलानाला, खोचहरू, हिमाल पार गर्दै शारीरिक, मानसिक, प्राविधिक सबै किसिमका अनुभवबाट साहसिक जोखिमहरू जितेर याक अट्याक सम्पन्न गरेपछि संसारको जुनसुकै क्षेत्रमा साइक्लिङ गर्न सक्ने क्षमता वृद्धि हुने विश्वास गरिन्छ । सोही कारण पनि विश्वभरबाट याक अट्याक साइक्लिङमा सहभागी बन्न साइक्लिस्टहरू नेपाल आउने क्रम जारी छ । यस प्रतियोगिताले नेपाललाई विश्व जगतमा चिनाउन मद्दत पुगेको आयोजकको दाबी छ ।