काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आवाज नेपाललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि निरन्तररुपमा एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसाजस्ता विषयमा सशक्तीकरणका लागि काम गर्दै आएकोे कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको हो । विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४० जना महिला र बालबालिकाहरूलाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब दुई महिनासम्मलाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र उनका बालबालिकाहरूलाई सामाग्रीहरू हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई बैंकको प्रयासमा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महसुस भएको कुरा व्यक्त गरे । संस्था तथा त्यहाँ रहेका बालबालिकाहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरूले एकल महिला र बालबालिकाको अधिकारकोे हेरचाहको लागि समाजमा उदाहरण बसाइरहेको कुरा पनि व्यक्त गरे । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर–२०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, एक सय ६८ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ एकाइहरूबाट १८ लाख ९१ हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।