पाटन (ललितपुर) । नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टीबीच पार्टी समायोजनका लागि सोमबार ललितपुरमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताएका छन् ।
उनले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार, राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गरे । “सबै कम्युनिस्ट एक ठाउँमा हुँदा जनमत ठूलो हुन्छ, यो एकताले ठूलो ढोका खोल्नेछ, महेन्द्र राय यादवसँग पनि छलफल भइ नै रहेको छ । पार्टीको नामको कारणले उहाँ महाधिवेशनसम्म बहिरै हुन चाहनुभएको छ, उहाँ पनि यो एकता प्रक्रियामा समाहित हुनुहुनेछ”, अध्यक्ष प्रचण्डले भने । उनले आजको प्रयासले शक्तिशाली समाजवादी आन्दोलनलाई अगाडि बढाउने धारणा राखे ।
नेकपा (माओवादी केन्द्र) मा आफूसहित नेपाल समाजवादी पार्टीका नेताहरू समायोजन भएको अवसरमा गरिएको समझदारी पत्रमा हस्ताक्षर गरेपछि नेता गंगानारायण श्रेष्ठले नेताहरूको दोष नहुँदा नहुँदै पनि समृद्धिको यात्रामा समाजवाद निर्माणका लागि बहसलाई अगाडि बढाउने क्रममा पार्टी छिन्नभिन्न हुन पुगेको बताए । उनले हिजो जानअन्जानमा गरेका गल्तीबाट देश र पार्टीले क्षति भोग्नुपरेको भन्दै विचार र राजनीतिक एजेन्डा मिल्नेहरू छुट्टाछुट्टै भएर बस्नु आवश्यक नभएकाले एकता प्रक्रियामा सामेल भएको बताए ।
समाजवादी क्रान्तिका लागि यसका पक्षधरसँग एकतालाई निरन्तरता दिने जानकारी गराउँदै महासचिव देव गुरूङले जनवादी केन्द्रीयताको मान्यता अनुरूप पार्टी अगाडि बढ्ने जानकारी गराए । उनले दुई पार्टीबीच पार्टी समायोजनपश्चात गंगानारण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको बताए ।