काठमाडौं । विश्वमा जैविक विविधताको महत्व कति छ ? भनेर हरेक देशका कुना–कुनामा बस्ने भुइँ तहका मानिसलाई समेत बुझाउने उेद्दश्यले ईस्वी सन्को मे २२ तारिखका दिन विश्वभरिका देशमा ‘विश्व जैविक विविधता दिवस’ मनाउने गरिन्छ । सन् १९९४ देखि विश्व जैविक विविधता सुरु गरिएको हो । यसरी ‘विश्व जैविक विविधता दिवस’ मनाउने निर्णयचाहिँ सन् १९९२ मे २२ मा ब्राजिलको राजधानी रियो डे जेनेरियो सहरमा भएको पहिलो ‘विश्व पृथ्वी शिखर सम्मेलन’ले गरेको थियो । सो पृथ्वी शिखर सम्मेलनमा विश्वभरिका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूका साथै सरकारी प्रतिनिधिहरू एवं गैरसरकारी प्रतिनिधिहरूको भेला भएका थिए । सो सम्मेलनले जैविक विविधता महासन्धि पारित गरेको थियो । त्यसपछि सन् १९९४ देखि आधिकारिकरूपमा संयुक्त राष्ट्र संघको तत्वधानमा विश्व जैविक विविधता दिवस मनाउन सुरु गरिएको हो ।
गत वर्ष अर्थात् सन् २०२४ को ‘विश्व जैविक विविधता दिवस’को मुख्य नारा ‘योजनाको हिस्सा बन्नुहोस्’ भन्ने रहेको थियो भने यो वर्ष (सन् २०२५)को नाराचाहिँ ‘हारमोनी विथ नेचर एन्ड सस्टेनेबल डेभलपमेन्ट’ रहेको थियो । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर ‘विश्व जैविक विविधता दिवस’ मनायो । हुन त हाम्रो देश नेपाल विश्वमा १९७ वटा स्वतन्त्र देशहरूमध्ये भूगोलका आधारमा ९५औँ स्थानमा रहेको छ । त्यसो भए पनि नेपाल जैविक विविधताका आधारमा चाहिँ एसिया महादेशका देशहरूमा ११औँ स्थानमा रहेको छ भने, विश्वका जैविक विधिता भएका विश्वभरिका देशहरूसँग तुलना गर्दाचाहिँ नेपालको स्थान २५औँ स्थानमा रहेको छ । यसरी हेर्दा हाम्रो देश नेपाललाई जैविक विविधताका आधारमा हेर्दा धनी नै मान्न, भन्न सकिन्छ । भूगोलविद्हरूका भनाइअनुसार हाम्र देश नेपालले विश्वको समग्र भूगोलको शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत भूमि मात्रै ओगटेको छ भने एसिया महादेशको सम्पूर्ण भूगोलमा पनि शून्य दशमलव तीन (०.३) प्रतिशत भूगोल मात्रै ओगटेको छ । भनिन्छ, मानिस बाँच्नका लागि पृथ्वीमा रहेका हरेक सूक्ष्म जीवहरूको पनि अस्तित्व रहनु जरुरी हुन्छ । त्यसका लागि पनि जैविक विविधताको आवश्यकता हुन्छ । भनाइको मतलब केवल मानव जातिका लागि मात्रै नभएर पृथ्वीमा रहेका सबै प्राणी र चराचर जगतलाई जैविक तथा पारिस्थिकीय प्रणाली आवश्यक पर्छ ।
यसरी हेर्दाखेरि जैविक विविधता र पारिस्थिकीय प्रणलीको कोणबाट हामी नेपालीहरू धेरै धनी रहेका छौँ । हामी हरेक क्षेत्र, चिजबिज र साधन–स्रोतहरूमा विश्वका कयौँ देशहरूभन्दा निकै धनी छौँ । नेपालमा छ हजारभन्दा बढी फूल फूल्ने वनस्पति, पाँच हजारभन्दा बढी कीरा–फट्याङ्ग्रा, तीन हजार नौ सय ६६ भन्दा बढी रातमा विचरण गर्ने पुतली, १८ सय २२ प्रजातिका ढुसी, आठ सय ६७ प्रजातिका चरा, छ सय ५३ प्रजातिका पुतली, चार सय ७१ प्रजातिका भ्mयाउ, तीन सय ८३ प्रजातिका उन्यू, दुई सय प्रजातिका मकुरो, एक सय ८५ प्रजातिका माछा, ४३ प्रजातिका उभचर र ३२ प्रकारका त गुराँस मात्रै छन् । त्यसो त सन् १९७०–१९८० मा गरिएको एक अनुसन्धानअनुसार नेपालमा पाँच हजार ६७ प्रकारका वनस्पतिहरूको सूची तयार गरिएको थियो । त्यसमा चार सय वटा त स्थानीय प्रजातिका ‘भास्कुलर वनस्पति’हरू मात्रै रहेका छन् । त्यस्तै गरेर हाम्रो देश नेपालमा फूल फुल्ने बिरुवाहरू दुई दशमलव दुई (२.२) प्रतिशत पाइन्छ । स्रोतः ‘नेपाल नखुलेका पाटाहरू’ नामक किताब ।
त्यस्तै गरेर भगौलिक विविधतामा पनि विश्वका अन्य देशहरूको तुलनामा हाम्रो देश नेपाल कम रहेको छैन । किनभने हाम्रो देश नेपालमा विश्वकै उच्च हिम शिखर (आठ हजार आठ ४८ दशमलव ८६ मिटर) सगरमाथा हिमाललगायत अन्य उच्च हिमाल (आठवटा आठ हजार मिटरभन्दा माथिका), मध्यम हिमाल, निम्न मध्यम हिमाल, महाभारत पहाड, चुरे पहाड, भित्री मधेस, मधेस (समथर मैदान) समेतको भूगोल रहेको छ । अझ हाम्रो देश नेपालमा ससाना मैदान, उपत्यका, टार, खोँचहरू प्नि प्रशस्तै छन् । त्यसैले हाम्रो देश नेपाल भूगोलको आधारमा पनि विश्वका कुनै देशभन्दा कम रहेको छैन भन्न सकिन्छ । यसरी हेर्दा प्राकृतिक साधन र स्रोतहरूमा पनि हाम्रो देश नेपाल धेरै नै धनी देशको रूपमा रहेको देखिन्छ । त्यसमा पनि जडीबुटीजन्य वनस्पतीमा नेपाल विश्वका अन्य देशहरूको तुलनामा कम धनी छैन । तर, पनि हामी नेपालीहरूले अहिलेसम्म पनि नेपालका ती अधिकांश वनस्पति र वनस्पतिजन्य जडीबुटी वा भनौँ औषधिजन्य जडीबुटीहरूलाई सही र पूर्ण क्षमताका साथ सदुपयोग गर्न सकी रहेका छैनौँ । त्यसरी प्रयोग गर्न नसकिएको अधिकांश वनस्पति र जडीबुटी वा भनौँ औषधिजन्य वनस्पतिहरूको नाम सूची धेरै लामो हुन सक्छ । त्यस्तै गरेर हाम्रो देश नेपाललाई स्थानीय हावापानी, मौसमी विविधता, जलवायु, पारिस्थितिकीय प्र्रणाली, माटोको विविधता, उचाइ आदिका हिसाबले पनि धेरै धनी मान्न सकिन्छ ।
पछिल्लो पटको तथ्याङ्कअनुसार अहिलेको अवस्थामा आइपुग्दा नेपालको जम्मा क्षेत्रफलको लगभग १९ प्रतिशत भूमि निकुञ्ज, संरक्षण क्षेत्र, रामसार क्षेत्र, सकार आरक्षण आदिका नाममा संरक्षित क्षेत्रका रूपमा विकास र विस्तार गरिएको छ । त्यसमा राष्ट्रिय निकुञ्ज, सिकार आरक्षण, संरक्षित क्षेत्र, मध्यवर्ती क्षेत्र (बफर जोन), रामसार क्षेत्र आदि रहेका छन् । त्यस्ता संरक्षित क्षेत्रहरूमा अन्नपूर्ण संरक्षण क्षेत्र, कञ्चनजंघा संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, कृष्णसार संरक्षण क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र र सिकार आरक्षण क्षेत्रमा चाहिँ नेपालमा हालसम्म एक मात्रै सिकार आरक्षण क्षेत्रको रूपमा ‘ढोरपाटान सिकार आरक्षण क्षेत्र’ रहेको छ । त्यस्तै गरेर रामसारहरूमा गोक्यो ताल, बीसहजारी ताल, घोडाघोडी ताल, माईपोखरी ताल, रारा ताल, फोक्सुन्डो ताल, गोसाईँकुन्ड ताल आदि । त्यस्तै गरेर निकुञ्जहरूमा चाहिँ चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, अपि नाम्पा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज आदि रहेका छन् । हालसम्म हाम्रो देश नेपालमा लगभग २९ वटा राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, सिकार आरक्षण क्षेत्र, वन्यजन्तु आरक्षणा क्षेत्र, रामसार क्षेत्र, मध्यवर्ती क्षेत्र, वन संरक्षित क्षेत्र रहेका छन् । ती राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, सिकार आरक्षण क्षेत्र, वन्यजन्तु आरक्षणा क्षेत्र, रामसार क्षेत्र, मध्यवर्ती क्षेत्र, वन संरक्षित क्षेत्रलगायत नेपालका अन्य भूभागमा वनस्पति जगतको परिवारमा पर्ने प्रजातिका रुख, बिरुवा, फुल फुल्ने बुट्यान, लहरा, जडीबुटी, भ्mयाउ, झाडी (बुश) आदिका हजारौँ वनस्पतिहरू परिवार पैmलिएर रहेका छन् ।