काठमाडौं । कामना सेवा विकास बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डमेस्टिक कार्ड स्किम (नेपाल–पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत विकास ढुंगाना तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल–पे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपीएस–एनसीएस र नेपाल–पे कार्डमा आबद्ध भइरहेका छन् । नेपाल–पे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् कामना सेवा विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन् । एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्वीचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्वीचको रूपमा स्थापना गरिँदैछ ।
उक्त प्रणालीको पूर्ण कार्यान्वयनपछि डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डेटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । एनसिएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पिएसओ र पिएसपी र १०० भन्दा बढी गैर–बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस–एनसीएस र नेपाल–पे क्यूआर कोडको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
बैंकले देशभरि रहेका एक सय ३० वटा शाखा/विस्तारित शाखा तथा ७२ एटीएम टर्मिनलमार्फत ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।