म्याग्दी (बेनी) । स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्साभेटर चालकको म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको छ ।
जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षका खेमराज कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
एक्साभेटरभित्रै च्यापिएको अवस्थामा कुमालको शव फेला परेको थियो । घटनापछि प्रहरी र स्थानीयवासीले एक्साभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए । प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले शव परीक्षणको लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको जानकारी दिए ।
दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ । मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रूपमा क्षति भएको छ ।