काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको ठहर गर्दै सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष,उपाध्यक्ष,प्रमुख कार्यकारी अधिकृतसमेत गरि १३ जना बिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्वउपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतलगायत १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको बताएको छ । इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नम्बर ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव, मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी प्रमुख संजयप्रसाद यादवलाई पनि अख्तियारले मुद्दा दायर गरेको हो।
३७ लाख ७५ हजार ४३६ रूपैयाँको लागत रहेको भवन उपभोक्ता समितिमार्फत १५ असार २०७७ मा निर्माण सम्पन्न गर्ने गरी ३२ जेठ २०७७ मा गरेको सम्झौतामा भ्रष्टाचार भएको अख्तियारको भनाइ छ ।गलत प्राविधिक मूल्यांकनसहित उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १८९ रूपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।