काठमाडौं, सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई पुनः नियुक्त गरेको छ । बोर्डको अध्यक्षका लागि छ जनाले आवेदन दिएकोमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईँ नियुक्त गर्ने निर्णय गरेको हो ।
हुमागाईँको पहिलो कार्यकाल सकिएपछि सो पदका लागि विज्ञापन गरिएको थियो । उक्त विज्ञापनमा हुमागाईंसँगै कविता शर्मा, सुजन राजा श्रेष्ठ, अशोककुमार घिमिरे, पदमराज जोशी र अनन्तकान्त मैनालीले आवेदन दिएका थिए ।
विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ को दफा १४(४) अनुसार अध्यक्ष पदका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न एक सिफारिस समिति गठन गरिने र त्यसमा मन्त्रालयका सचिव संयोजक, मन्त्रालयले नियुक्त गरेको सम्बन्धित विषयका एकजना विज्ञ सदस्य र सहसचिव सदस्य–सचिव रहने व्यवस्था छ ।
समितिले योग्यता पुगेका उम्मेदवारमध्येबाट उपयुक्त व्यक्ति छनोट गरी सिफारिस गर्नेछ । सोही सिफारिसअनुसार मन्त्रिपरिषद्ले नियुक्ति गर्ने निर्णय गरेको हो ।