काठमाडौं । निक्षेप लगातार बढ्दै गएपछि बैंकिङ प्रणालीमा अहिले अधिक तरलता छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न भन्दै हरेक हप्ता बजारबाट अर्बौँ रुपैयाँ तान्ने गरेको छ । प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाहरूबीच हुने कारोबार (अन्तरबैंक कारोबार) पनि घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूबीच १३ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच एक खर्ब ४८ अर्ब ३१ करोड रुपैयाँ गरी कुल १५ खर्ब १२ अर्ब १२ करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ खर्ब ९६ रुपैयाँले कम हो । गत आर्थिक वर्षको चैत मसान्तमा वाणिज्य बैंकहरूबीच ३१ खर्ब ८६ अर्ब ४४ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच तीन खर्ब २१ अर्ब ६० करोड रुपैयाँ समेत गरी कुल ३५ खर्ब आठ अर्ब चार करोडको अन्तर बैंक कारोबार भएको थियो ।
अन्तर बैंक कारोबार रकम घटेसँगै यस्तो कारोबारको व्याजदर पनि घटेको छ । २०८० चैतमा ९१–दिने ट्रेजरी बिलको भारित औसत व्याजदर तीन प्रतिशत रहेकोमा २०८१ चैतमा तीन दशमलव छ प्रतिशतमा सीमित छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत व्याजदर २०८० चैतमा तीन दशमलव १० प्रतिशत रहेकोमा २०८१ चैतमा तीन प्रतिशत छ । राष्ट्र बैंकका अनुसार २०८१ चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर छ दशमलव १९ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ३४ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव १७ प्रतिशत छ ।
२०८० चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर आठ दशमलव ५१ प्रतिशत, विकास बैंकहरूको १० दशमलव ४१ प्रतिशत र फाइनान्स कम्पनीहरूको १२ दशमलव दुई प्रतिशत थियो । २०८१ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत व्याजदर चार दशमलव ४५ प्रतिशत, विकास बैंकहरूको पाँच दशमलव २२ प्रतिशत र फाइनान्स कम्पनीहरूको छ दशमालव २४ प्रतिशत छ । २०८० चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत व्याजदर छ दशमलव ५३ प्रतिशत, विकास बैंकहरूको सात दशमलव ५८ प्रतिशत र फाइनान्स कम्पनीहरूको आठ दशमलव ८२ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार २०८१ चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत व्याजदर आठ दशमलव ८२ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव ५९ प्रतिशत र फाइनान्स कम्पनीहरूको १० दशमलव ४० प्रतिशत छ । २०८० चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत व्याजदर १० दशमलव ५५ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव १७ प्रतिशत र फाइनान्स कम्पनीहरूको १३ दशमलव ३६ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
बैंक वित्तीय संस्थाको शाखा संख्या साढे ११ हजार नाघ्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार पाँच सय नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र ५२ वटा लघुवित्त वित्तीय संस्था गरी कुल एक सय सात वटा बैंक वित्तीय संस्थाको शाखा संख्या ११ हजार पाँच सय १६ पुगेको हो । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ८३, विकास बैंकहरूको एक हजार एक सय ३२, फाइनान्स कम्पनीहरूको दुई सय ९१ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार १० वटा शाखाहरू सञ्चालनमा छन् ।
राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालनमा रहेको कुल शाखा संख्या ११ हजार पाँच सय ३० थियो । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ५६, विकास बैंकहरूको एक हजार एक सय ३५, विकास बैकहरूको दुई सय ८८ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार ५१ वटा शाखाहरू सञ्चालनमा थिए ।