काठमाडौं । सहरी विकास मन्त्रालय नयाँ आर्थिक वर्षबाट पेपरलेस हुने भएको छ । मन्त्रालयका सचिव गोपाल सिग्देलले साउन १ गतेबाट सरकारी काम कारबाही एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ( जीआईओएमएस) प्रणालीबाट हुने जानकारी दिए ।
यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारबाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्नेछ । मन्त्रालयका सचिव सिग्देलले आंशिकरूपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेकोमा साउन १ गतेबाट भने पूर्ण कार्यान्वयनमा ल्याउने जानकारी दिए । ‘सरकारी कामकारबाही पेपरलेस बनाउने, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गर्न लागेका छौँ,’ सचिव सिग्देलले भने, ‘अब अन्तर मन्त्रालय फाइल र चिठ्ठी पत्र, मन्त्रालय र विभागहरूबीच फाइल आदानप्रदान गर्दा पेपरलेस हुनेछ । सबै डिजिटलाइज हुनेछ ।’ यो प्रणाली लागू भएपछि ब्याक डेटमा काम गर्ने र फाइलहरू अड्काउने प्रवृत्ति अन्त्य हुनेछ । कुन फाइल मन्त्रालयको कुन निकायमा कति दिनदेखि छ भन्ने जानकारी लिने फाइल ट्रयापिङ सिस्टम पनि कार्यान्वयनमा ल्याइने भएको छ ।
जीआईओएमएस प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारीरूपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउन लागेको हो । यो प्रणाली प्रयोग गरी सरकारी निकायले विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा र काज स्वीकृति, अभिलेख व्यवस्थापनलगायतका कार्य हुनेछ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयको सेवा प्रवाह सहज र चुस्त बनाउन फाइल ट्यापिङ सिस्टम र एकिकृत कार्यालय व्यवस्थापन प्रणाली पूर्ण कार्यान्वयनमा ल्याउन निर्देशन समेत दिएका छन् ।