लुम्बिनी । एक महिलासहित दुई बालिकाको बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै वीभत्स हत्या भएको छ । ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू सात वर्षीया स्नेहा र चार वर्षीया हिमान ढकालको हत्या भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् । बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालालाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।
प्रहरीले घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी तीनैजनाको हत्या गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक रानाले कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहानको समयमा चक्कु र घन प्रयोग गरी तीनै जनाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।
सुजनसँग सम्बन्धविच्छेद गरेपछि दीपाले दोस्रो विवाह गरेकी जनाइएको छ । स्वास्थ्यकर्मीका रुपमा दीपा कार्यरत थिइन् । दीपासँगै हत्या गरिएका दुई बालिका पनि पछिल्लो पतितर्फका हुन् । सुजनले आफ्नै दाजु मारेर जेल सजाय भुक्तान गरेर केही वर्षअघि छुटेका थिए । उनी अहिले हत्या अभियोगमा प्रहरी नियन्त्रणमा रहेका छन् ।