काठमाडौ । इनड्राइभले नेपालमा ‘राइड टु सपोर्ट’ अभियान सुरु गरेको छ । यो अभियान स्थानीय समुदायलाई प्रत्यक्षरूपमा लाभ पुर्याउने उद्देश्यले प्राथमिक विद्यालयहरूमा खेलकुद संरचना र सुविधा सुधारमा केन्द्रित रहेको कम्पनीले जनाएको छ ।
समुदाय–सञ्चालित यो पहलअन्तर्गत इनड्राइभले मे महिनाभरि नेपालभर सञ्चालित प्रत्येक तेस्रो राइडबाट संकलित भाडाको १० प्रतिशत रकम स्थानीय प्राथमिक विद्यालयहरूमा खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरणमा खर्च गर्नेछ । यस पहलमार्फत बास्केटबल, ब्याडमिन्टन र फुटसलजस्ता खेलहरूका लागि आवश्यक किटहरू प्रदान गरिनेछ, जसले विद्यार्थीहरूको शारीरिक विकास र सामाजिक सहभागिता अभिवृद्धि गर्न मद्दत गर्नेछ । इनड्राइभको यो अभियानले स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याउन र बालबालिकाहरूको समग्र विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ, यसले समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
इनड्राइभको ‘राइड टु सपोर्ट’ अभियान केवल यात्राको सेवा मात्र नभई, समाजमा सकारात्मक परिवर्तन ल्याउने दृढ संकल्पको हो । अभियानअन्तर्गत संकलित रकम प्राथमिक विद्यालयहरूको खेल मैदान मर्मत तथा आवश्यक खेलकुद सामग्रीहरूको आपूर्तिमा प्रयोग गरिनेछ । यसले विद्यालयमा अध्ययनरत बालबालिकालाई सुरक्षित, समावेशी र गुणस्तरीय खेलकुद पूर्वाधारमा सहज पहुँच सुनिश्चित गर्नेछ । यस किसिमको पहलले सामाजिक असमानताविरुद्ध आवाज उठाउने र सेवाबाट वञ्चित समुदायका बालबालिकालाई समान अवसर प्रदान गर्ने इनड्राइभको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ । इनड्राइभले सबै प्रयोगकर्तालाई ‘राइड टु सपोर्ट’ अभियानमा सहभागी भई समाजमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गरेको छ ।