काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गतका कर्मचारीहरूले लिँदै आएको सेवासुविधा कटौती गरेको छ ।
मन्त्रालयले डीडीसीका कर्मचारीहरूले पाउँदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्युको सुविधा बुधबारदेखि कटौती गरेको हो । दुग्ध किसानहरूलाई दिनुपर्ने भुक्तानी, सरकारवाट लिएको ऋण चुक्ता गर्नुपर्ने अवस्थालगायतका कारण सुविधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ । अन्य सार्वजनिक संस्थानहरूमा पनि संस्था नोक्सानीमा गएका बेला सुविधा नलिने गरिएको अभ्यास रहेको उल्लेख गर्दै मन्त्रालयले दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरी आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन पनि सुविधा कटौती जरुरी रहेको उल्लेख गरेको छ ।
यसअघि मन्त्रालयले संस्थान व्यवस्थापन समक्ष खाईपाई आएको सेवा सुविधाको जानकारी मागेको थियो । यस्तै, मन्त्रालयले संस्थानको महाप्रबन्धकमा सहसचिव जगदीश पाण्डेलाई पठाएको छ ।