काठमाडौ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवालाई नेतृत्व विकास, उद्यमशीलता, स्टार्टअपमार्फत जीविकोपार्जनसँग जोड्न र जनकल्याणकारी कार्यमा संलग्न गराउन सरकार कटिबद्ध रहेको बताएका छन् ।
ललितपुरमा बुधबार आयोजित नमुना संयुक्त राष्ट्र संघीय अभ्यास २०२५ मा उनले डिजिटल प्लेटफर्म र आर्टिफिसिय इन्टलिजेन्समा भएको तीव्र विकास युवावर्गको सिर्जना र लगावमार्फत सम्भव भएको बताए । यसले पारेको आर्थिक, सामाजिक र वातावरणीय आयामहरूमा गहिरो प्रभावलाई युवाले सहजै आत्मसात गर्न सक्नुपर्नेमा उनले जोड दिए । त्यस्तै, उपप्रधानमन्त्री सिंहले नेपाली युवाहरूलाई विश्वमञ्चमा नेतृत्वदायी भूमिकामा पुगेको देख्न चाहेको भन्दै युवाले नै देश बनाउने बताए । ‘युवासँग सिर्जनाको मुहान छ । साहशिला पनि युवा नै हुन्छन् । त्यसैले युवा सहभागितालाई विश्वले निकै महत्व दिएको पाइन्छ । हामी पनि हाम्रा युवालाई विश्व मञ्चका प्राविधिक, आर्थिक, राजनीतिक, पर्यावरणीय तथा सांस्कृतिक क्षेत्रमा नेतृत्वदायी पङ्क्तिमा पुगेको देख्न चाहन्छौँ,’ उनले भने ।
त्यस्तै, उपप्धानमन्त्री सिंहले अहिले देशले इतिहासमै सबैभन्दा बढी युवाहरूको भूमिका खोजिरहेको पनि बताए । साथै, उनले सरकारको तर्फबाट गर्नुपर्ने र गर्न सकिने कामहरूका लागि सुझाव दिन आग्रह गरे । ‘हामी लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नागरिक हौँ । हामी सबै मिलेर गणतन्त्रात्मक राज्य व्यवस्थालाई सुदृढ गर्दै पारदर्शी प्रशासनका लागि आवश्यक प्राविधिक ज्ञान, सिप र दक्षतालाई अङ्गीकार गर्न तयार छौँ,’ उनले भने, ‘सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्न सक्छन् ।’ युवालाई नेतृत्व विकास, उद्यमशीलता, स्टार्टअपमार्फत जीविकोपार्जनसँग जोड्न र जनकल्याणकारी कार्यमा संलग्न गराउन सरकार कटिबद्ध रहेको पनि उनले बताए ।