काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्नको लागि अन्तरबैंक टेलर क्यूआर सेवा सुरुवात गरेको छ । यस सेवाअन्तर्गत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ एपको प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर स्क्यान गरी सजिलै नगद झिक्न सक्नेछन् । यस सेवाको सुरुवातबाट ग्राहकहरूले परम्परागतरूपमा चेक तथा एटीएमको प्रयोगमार्फत रकम झिक्नुपर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्नेछ । यस सेवा बैंकमा खाता नभएका तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि उपयोग गर्न सक्नेछन् । यो सेवा प्रथम चरणमा बैंकको मुख्य शाखा लाजिम्पाट, पोखराको नागढुङ्गा, कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयबाट सुरुगरी निकट भविष्यमा देशभरिकै शाखामा विस्तार गरिनेछ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिनसक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मालगायतका अन्य कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।