काठमाडौं । कृषक तथा उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा रहेका बैंकहरूले सहजीकरण गर्ने भएका छन् । कृषकहरूले सहजरूपमा कृषि कर्जा नपाएको गुनासो गरेपछि बैंकहरूले सहजीकरण गर्ने र कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।
वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि तथा कृषकहरूसँगको छलफलपछि बैंकका प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । वालिङमा भएको कार्यक्रममा गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख लेखनाथ भट्टराईले सहजरूपमा कर्जा पाउने तरिकाका बारेमा कृषकहरूमा जानकारी कम रहेको बताए । उनले भने, ‘ऋणबारेको जानकारी अभाव भएका कारण कृषकलाई कुरा बुझाउनै सकिएको छैन ।’ वित्तीय साक्षरता दिनका लागि पालिकाहरूसँग सहकार्य गर्ने उनको भनाइ छ ।
कृषि विकास बैंक वालिङका प्रमुख यमप्रसाद आचार्यले वास्तविक कृषकलाई ऋण प्रवाह गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । बैंकको कुल लगानीको २५ प्रतिशत कर्जा कृषिमा लगानी गरिँदै आएको उनको भनाइ छ । नेपाल बैंक वालिङका प्रमुख दर्शना भट्टराईले ऋण एक शीर्षकमा लिने र खर्च अर्काे शीर्षकमा गर्ने क्रम बढेको बताए । उनले भने, ‘ऋण लिएर कृषि कर्म गर्नहरूको लागि हामीले सहयोग गर्छौँ ।’
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैरे, गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने र कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले कृषकहरूका लागि सहुलियत कर्जा प्रदान गर्न पालिकाले सहकार्य गर्ने जानकारी गराए । सस्तो ब्याज दर र विनाधितो थोरै कर्जाले ठूलो काम हुने भन्दै उनीहरूले बैंकहरूले सहयोग गर्नुपर्नेमा जोड दिए ।
वालिङका उपप्रमुख तिवारीले एनएम्बी खेती कर्जाअन्तर्गत विना धितो दुई लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सुरु गरिएको जानकारी दिए । विनाधितो गाउँ–गाउँमा प्रवाह गरिने कर्जाले उत्पादन बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकामा हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भइरहेका कृषि विकास परियोजनामा आबद्ध चार हजार ९९ कृषक परिवारलाई सहुलियत कर्जा प्रवाहका लागि छलफल गरिएको हेफर प्राजेक्ट नेपालका क्षेत्रिय प्रवन्धक प्रेम साम्वयुले जानकारी दिए । गाउँ–गाउँमा रहेका कृषकहरूलाई सहजरूपमा कृषि कर्जा उपलब्ध गराउने कार्यक्रमको योजना रहेको उनको भनाइ छ ।
कार्यक्रममा वाणिज्य बैंक वालिङका प्रमुख लिला गुरुङ, मुक्तिनाथ विकास बैंक वालिङका प्रमुख नवीन काफ्ले, लक्ष्मी बैंक वालिङका प्रमुख मणिप्रसाद बस्याल, एनएम्बी खेती कर्जाका सुरज सुवेदी र सुरज गुरुङ, हेफर प्रोजेक्टका वरिष्ठ कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डे, वित्तीय अधिकृत नगेन्द्र भट्टलगायतले सहज तथा सहुलियत कर्जा प्रवाह र परिचालनका बारेमा जानकारी गराएका थिए ।