काठमाडौं । नेपाल हस्तकला महासंघले सेरामिक वस्तु विकास, डिजाइनिङ, रंग समिश्रण तथा फिनिसिङसम्बन्धी २१ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभाग र नेपाल हस्तकला महासंघ कला तथा शिल्प परिषद्को संयुक्त आयोजनामा भएको सो २१ दिने प्रशिक्षण मंगलबार सकिएको हो । यस्तै, प्रशिक्षण समापन कार्यक्रममा हस्तकला प्रदर्शनी समेत गरिएको थियो । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा हाँडीगाउँ–५, गहना पोखरीमा प्रशिक्षण सभापन तथा हस्तकला प्रदर्शनी आयोजना गरिएको महासंघले जनाएको छ । प्रशिक्षणमा १७ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
नेपाल हस्तकला महासंघको अध्यक्ष रविन्द्र शाक्यको अध्यक्षतामा भएको प्रशिक्षणमा संयोजक मणिकमान शाक्यले प्रशिक्षणको उद्देश्य र महासंघका उपाध्यक्ष एवं कला तथा शिल्प परिषद्का सभापति नवीन शाक्यले परिषद्को विविध क्रियाकलापबारे जानकारी गराएका थिए । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले सेरामिक क्षेत्रको विकास, बजार प्रवर्द्धनका लागि आउने दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । महानगरपालिकाका उपप्रमुख ढंगोलले सिकेको सिप व्यवहारमा उतार्न अनुरोध गर्दै सीपबाट आर्थिक उपार्जनमा सक्रियरूपमा लाग्न सुझाव दिइन् । साथै, उनले प्रशिक्षार्थीलाई प्रमाणपत्र र प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरेकी थिइन् ।
बाँसजन्य वस्तु उत्पादन तालिम
त्यसैगरी व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा महासंघको उद्योग परिषद्को संयोजनमा १५ दिनको वाँसजन्य वस्तु उत्पादनसम्बन्धी तालिम आयोजना गरिएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं. ९ लामाटार, ललितपुरमा सो तालिम सञ्चालन गरिएको हो । सो तालिममा सहभागीहरूलाई मंगलबार एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको थियो । व्यापार तथा निकासी प्रर्द्धवन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाको प्रमुख आतिथ्य र महासंघका अध्यक्ष रविन्द्र शाक्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं ९ का अध्यक्ष, महासंघका पूर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य र स्थानीय वडा सदस्यहरूको उपस्थिति रहेको थियो ।