काठमाडौं । यामाहा नेपालले देशभरका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप नेसनल सर्भिस स्किल कन्टेस्ट आयोजना गरेको छ । यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा हालै सम्पन्न भएको यो प्रतियोगितामा देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू सहभागी भएका थिए ।
प्रतियोगितामा सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्याको पहिचान गर्ने च्यालेन्जहरू, लिखित परीक्षा र भाइभालगायतका चरणहरू पार गरेका थिए । कम्पनीको सो प्रतियोगिताको उपाधि बी एन्ड बी अटो ट्रेडर्स, विराटचोकका सुकदेव माझीले जिते । यस्तै, तिरुपति अटो प्यालेस, विराटनगर रोनित श्रेष्ठ उपविजेता भए भने जेएस अटोमोबाइल्स प्रालि, सतुंगलका सागर त्वाती र जीएसएस ट्रेडर्स, लम्कीका विनोद चौधरी साझारूपमा तेस्रो भए ।
एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले प्रतियोगिताले यामाहा नेपालको जनशक्ति, नवप्रवर्तन र तालिममा लगानी गर्ने लक्ष्यलाई अझ मजबुत बनाएको बताए । यस्तो कार्यक्रम प्रतिस्पर्धाको मात्र विषय नभई सिकाइ, विकास र परिवर्तनशील दुईपाङ्ग्रे प्रविधिमा उत्कृष्टता हासिल गर्ने यात्राको उत्सव पनि भएको उनको भनाइ थियो ।