काठमाडौं । प्रभु हेली लिमिटेडले फ्रान्सको विश्व बिख्यात बायुयान निर्माता कम्पनी एयरवसद्वारा निर्मित नयाँ हेलिकोप्टर थपेको छ । नेपालको हेलिकोप्टर सेवा क्षेत्रमा स्थापित प्रभु हेली लिमिटेडले कल साइन ९एन‑एएनटी रहेको एयरवसको एच १२५ हेलिकोप्टर थपेको हो । एयरवसको एच १२५ हेलिकोप्टरले दुर्गम तथा उच्च भूभागमा सुरक्षित, भरपर्दो र प्रभावकारी सेवा पुर्याउन उत्कृष्ट भएकाले सो हेलिकप्टर खरिद गरिएको प्रभु हेली लिमिटेडका अध्यक्ष सुभाष अमात्यले जानकारी दिए । अत्याधुनिक प्रविधि जडित यो एच १२५(एएस ३५० वि ३ई) हेलिकप्टरमा पाँच यात्रु सिट क्षमता रहेको छ । एयरवस एच १२५ हेलिकोप्टर हाइ अल्टिच्युडमा उत्कृष्ट प्रदर्शन क्षमताका कारण विश्वभर अत्यन्तै बहुउपयोगी र सुरक्षित हेलिकप्टरको रूपमा परिचित छ ।
कम्पनीले पर्यटन, आकस्मिक स्वास्थ्य उद्धार, सामग्री ढुवानी तथा मानवीय उद्धार कार्यहरूका लागि नियामक मापदण्डहरूमा पूर्ण प्रतिबद्धता रही उच्च अपरेसन स्ट्यान्डर्डमा सेवा प्रदान गर्ने आवश्यक प्रशासनिक र प्राविधिक प्रक्रियापछि ९एन‑एएनटी कलसाइनको एयरवस एच १२५ हेलिकोप्टरलाई ल्याएको जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कम्पनीको एओसीमा नयाँ हेलिकोप्टर थप गरी व्यावसायिक उडानका लागि अनुमति दिइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
२०७२ असोजमा प्रभु ग्रुपद्वारा स्थापित प्रभु हेलीले तत्कालीन मुक्तिनाथ हेलिकोप्टरलाई १० वर्ष अगाडि अधिग्रहण गरेको थियो । एउटा रोबिन्सन हेलिकोप्टरबाट सेवा सुरु गरेको प्रभु हेलीले चार वटा रोबिन्सन हेलिकप्टर थप गरी सेवा प्रदान गरेको थियो ।
कम्पनीले पाँच वर्ष अगाडि पहिलो एयरबस हेलिकोप्टर भित्र्याएको थियो । नेपालमा हेली अपरेसन अनुभवका आधारमा नेपालका कठोर भूगोलीय आवश्यकताहरूलाई प्रभावकारी्रूपमा सम्बोधन गर्न कम्पनीले उच्च प्रदर्शन क्षमतायुक्त एयरबस खरिद गर्ने निर्णयसहित सम्पूर्ण रोबिन्सन हेलिकप्टर बिक्री गरेको थियो । नयाँ हेलिकप्टर भित्र्याएसँगै प्रभु हेलीसँग दुई वटा एयरवस एच १२५ हेलिकोप्टर भएका छन् ।