गण्डकी । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित गणतन्त्र दिवस मूल समारोहमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गणतन्त्र जनताका लागि जनताद्वारा नै चुनिएको उन्नत व्यवस्था भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी रहेको बताएका छन् ।
उनले गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र नभई सोच, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण पनि हो भने । प्रदेश प्रमुख भट्टले कुनै पनि विभेद, हिंसा र असहिष्णुता लोकतान्त्रिक मूल्यविरुद्ध हुने बताउँदै सहिष्णुता, सहकार्य र सम्वादलाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए ।
सोही समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रलाई संस्थागत गर्दै राज्य संरचना र नेतृत्वलाई जनउत्तरदायी, पारदर्शी र सहभागितामूलक बनाउन सम्बद्ध पक्षको साझा दायित्व रहेको बताए । मुख्यमन्त्री पाण्डेले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा तथा कार्यान्वयनका गणतन्त्रीवादी शक्ति सबै एकठाउँमा उभिनुपर्ने धारणा राखे ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गणतन्त्रप्रति सारा नेपालीको अपनत्व रहेको बताए । संविधान र व्यवस्थाभन्दा माथि कोही नरहेको उल्लेख गर्दै उनले राजतन्त्र ल्याउने सपना नदेख्न राजवादीहरुलाई चुनौती दिए । मुख्यमन्त्री पाण्डेलगायतका उच्चपदस्थ व्यक्तिहरुले सहिदचोकमा पुगी सहिदका सालिकमा माल्यार्पण गरेका थिए । समारोहमा विभिन्न सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।