चालू आर्थिक वर्षको १० महिनाको अवस्था हेर्दा देशमा वैदेशिक लगानीका लागि प्राप्त भएका प्रतिबद्धताहरू सकारात्मक छन् । यस्तो लगानीका प्रस्तावहरूमा उल्लेख भएका रकमको अङ्क महिनामा अर्बौँ देखिन्छ । यसको अर्को पक्ष के हो भने यस्तो लगानी व्यक्तिको प्रत्यक्ष सहभागिताबाट आउने गरेको छ । यसको अर्थ हो, देशमा उद्योगधन्दा सञ्चालन गर्न उद्यमीहरू क्रियाशील छन् । व्यक्तिको प्रत्यक्ष सहभागिताबाट जुट्ने लगानीमा सम्बन्धित व्यक्तिले देशको औद्योगिक वातावरणको राम्रोसँग परिचित गराएपछि मात्र यो सम्भव हुने हो । वैदेशिक लगानीले रकम आउने मात्र होइन त्यसका साथमा प्रविधि पनि भित्रिन्छ र अन्तर्राष्ट्रिय क्षेत्रमा केही हदसम्म बजार पनि सुनिश्चित हुने अवस्था आउँछ । त्यसै पनि अहिलेसम्म अवलम्बन गरेका ओद्योगिक नीतिहरू लगानीका लागि त्यति धेरै बाधक छैनन् भन्ने कुराको सन्देश पनि यसले दिइरहेको हुन्छ । यद्यपि यसमा व्यापक सुधारको आवश्यकता भने देखिन्छ नै । अहिलेसम्म प्राप्त भएका लगानीका प्रतिबद्धतामा उत्पादन क्षेत्र अपेक्षाकृत आकर्षित भएको देखिँदैन । यसबारे अनुसन्धान हुनुपर्ने देखिन्छ ।
उद्योग विभागका अनुसार यो आर्थिक वर्षको वैशाख महिनासम्ममा ५७ अर्ब छ करोड ७६ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यसमा पाँच सय ७६ वटा उद्योग स्थापना गरेर १४ हजार सात सय १९ जनालाई रोजगारी दिनेगरी यस्तो प्रतिबद्धता आएका छन् । विभागको अभिलेखमा रहेका विवरणअनुसार यो वर्षको १० महिनामा लगानीका लागि सबैभन्दा बढी सेवामूलक उद्योगमा रुचि देखाइएको छ भने सबैभन्दा कम उत्पादनमूलक उद्योगमा रहेको देखियो । सेवाभन्दा उत्पादनमूलक उद्योगमा हुने लगानीले चौतर्फी प्रभाव पार्छ । लगानी प्रतिबद्धता प्राप्त भएका विवरणअनुसार यो समयमा सेवामूलकमा २९ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ, पर्यटनमूलकमा २१ अर्ब ३३ करोड ७५ लाख रुपैयाँ र उत्पादनमूलकमा दुई अर्ब ९२ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ । ५७ अर्बको कुल लगानीमा तीन अर्ब पुगनपुग मात्रै उत्पादनमूलक क्षेत्र परे । यसमा कृषिमूलक क्षेत्रमा त झनै कम अर्थात् एक अर्ब ४२ करोड ६० लाख रुपैयाँ मात्रै परेको छ । अर्को पूर्वाधारमूलक उद्योग पनि लगानी प्रतिबद्धतामा धेरै पछि रहेको देखियो । पूर्वाधारमूलक उद्योगमा जम्मा पाँच करोड रुपैयाँ र त्यसमा पनि ऊर्जामा दुई करोड ५५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको अभिलेखले बताएको पाइयो । लगानी प्रतिबद्धता देखाइएकामध्ये संख्याको हिसावमा ६६ वटा सेवामूलक, दुई सय २३ वटा पर्यटनमूलक, ३९ वटा उत्पादनमूलक, १० वटा कृषिमूलक, दुई सय ३५ वटा सूचना प्रविधिमूलक र दुईवटा पूर्वाधारमूलक उद्योग छन् ।
प्रतिबद्धताभन्दा पनि देशका लागि प्रतिबद्धताअनुसार नै वास्तविक लगानी पनि हुनु आवश्यक विषय हो । विज्ञहरूका अनुसार लगानीको यथार्थ आकार भने धेरै सानो हुनेगरेको छ । उनीहरूले लगाउने गरेका आरोपअनुसार सरकार वैदेशिक लगानी प्रतिबद्धताको आकार ठूलो रहेको देखाउँछ र भित्रिने लगानी रकमलाई भने लुकाउँछ । विज्ञका अनुसार सरकारले लगानी प्रतिबद्धता आएअनुरूप लगानी भित्र्याउन सके सफल मान्न सकिन्छ, तर कानुनी जटिलता, ढिलासुस्ती कर्मचारी प्रशासन, जग्गा प्राप्ति, विद्युत्, सडकलगायतका पूर्वाधारको अव्यवस्थाका कारणले गर्दा लगानी प्रतिबद्धता नै फिर्ता लैजाने परिपाटी छ । त्यसमा सुधार नभएमा नेपालमा विदेशी लगानी उपयुक्त ढंगबाट परिचालन नहुने निश्चित छ ।
यदि यस्तै हो भने वैदेशिक लगानीका लागि यो एउटा ठूलो चुनौती हो । सरकारले जतिसक्दो छिटो यो समस्याको सम्बोधन गर्नुपर्छ । प्रतिबद्धता लगानीको पारम्भिक सूचना मात्रै हो । त्यो रकममा परिणत भएन भने अर्थ रहँदैन ।