इटहरी (सुनसरी) । कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यस वर्ष आरक्षले आइतबारदेखि सप्तकोशी नदीमा पाइने गंगेटिक प्रजातिको डल्फिनको गणना सुरु गरेको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले सप्तकोशीमा सन् २०२२ देखि नियमितरुपमा डल्फिनको गणना हुँदै आएको जानकारी दिए । उनले यस वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौँस्थित हिमालयन नेचर संस्थालगायतको प्राविधिक सहकार्यमा सुरु गरिएको बताए । उनले चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन दुर्लभ मानिने जानकारी गराए ।
चार दिनसम्म चल्ने गणना दुई विधिबाट सम्पन्न हुने बताइएको छ । आरक्षका अनुसार गङ्गा सागरबाट कोशी नदीसम्मको यात्रा गर्ने यी डल्फिन सफा र गहिरो पानीमा विचरण गर्न मन पराउँछन् । सन् २०१२ मा ११ र २०१७ मा १७ डल्फिन देखिएपछि डल्फिनको संरक्षणलाई आरक्षले प्राथमिकता दिंदै वार्षिक गणनाको अभ्यास थालिएको हो। आरक्षको तथ्याङ्कअनुसार २०२२ मा १७, २०२३ र २०२४ मा समानरुपमा १९ डल्फिन गणना गरिएको थियो । यस वर्ष डल्फिनको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।