काठमाडौं । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्युटी एकेडेमी आईएसएएसको नयाँ शाखा काठमाडौंको नयाँबानेश्वरमा सुरु भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको कलाकार वर्षा सिवाकोटीले उद्घाटन गरेकी हुन् ।
आईएसएएसमा ब्युटीसम्बन्धी छोटा तथा लामो अवधिका तालिम प्रदान गरिनेछ । एकेडेमीमा तालिमप्राप्त जनशक्तिले विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गर्न सक्ने जनाइएको छ । कलाकार वर्षा सिवाकोटीले महिला सशक्तीकरणको अभियानअन्तर्गत उनीहरूलाई सिपमूलक रोजगारी हासिल गर्न एवं उद्यमी बनाउनका लागि एकेडेमीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । ब्युटीसम्बन्धी अन्तर्राष्ट्रिय कोर्स अध्यापन गराउने उद्देश्यले कम्पनीले भारतका विभिन्न सहर, दुबई र श्रीलंकासँगै नेपालमा पनि स्कुल स्थापना गरेको हो । अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा प्रसिद्ध ग्लोबल ब्युटी आइकन भक्ति साप्केले सुरु गरेको अन्तर्राष्ट्रिय ब्रान्ड हो । करिब दुई दशकभन्दा लामो अनुभव भएकी साप्के ‘सिडेस्को सेक्सन युएइ’की अध्यक्ष समेत हुन् । साप्केको नेतृत्वमा आईएसएएसले ११ आउटलेट विस्तार गरेको छ । साथै, अमेरिकामा पनि शाखा खोल्ने तयारी अघि बढाएको उनको भनाइ छ ।
एकेडेमीमा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्यास एक्सटेन्सनलगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रियस्तरका पाठ्यक्रम पढाइ हुनेछ । यी कोर्स पूरा गरेपछि विद्यार्थीले सिडेस्को (स्विट्जरल्यान्ड), पिभोट पोइन्ट (अमेरिका), एलएटिटी (लन्डन), केएचडिए र डिएचए (दुबई) तथा टिभिइटी (यूएई) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायको परीक्षा दिएर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् । छोटा तथा लामा पाठ्यक्रमका दुवै विकल्प भएकाले विद्यालय, कलेज उत्तीर्णदेखि विदेश जान चाहने, करिअर परिवर्तन गर्ने चाहने, नयाँ उद्यम थाल्ने वा सीप अभिवृद्धि गर्न चाहने सबैका लागि लक्षित गरिएको छ । तालिमले विद्यार्थीलाई युरोप, मध्यपूर्व, क्यानडा, अष्ट्रेलियालगायतका देशमा पुगेर पाँचतारे होटल, लक्जरी स्पा, क्रुज, फेसन सो स्ता रोजगारीका अवसरमा सहज पहुँच प्रदान गर्नेछ ।
प्राविधिक सीपसँगै आईएसएएस नेपालले सफ्ट स्किल, उच्चतम ग्राहक सेवा, व्यवसाय व्यवस्थापन एवं खुद्रा बिक्रीको ज्ञानमा पनि जोड दिनेछ । सलुन, स्पा, नेल बार, ब्राइडल स्टुडियोजस्ता आफ्नै उद्यम सञ्चालन गर्न इच्छुकले उचित परामर्श र प्रशिक्षण पाउनेछन् । पछिल्ला १४ वर्षमा आईएसएएसबाट ९ हजारभन्दा बढी विद्यार्थी स्नातक भई विश्वभर सफल करिअर बनाइरहेका छन् ।