काठमाडौँ, जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाको शान्तिसुरक्षा तथा सार्वजनिक सेवालाई ध्यानमा राखेर तोकिएको ठाउँबाहेक अन्य क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शनजस्ता कार्यक्रम गर्न नपाउने गरी आदेश जारी गरेको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शनजस्ता कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिएका हुन् । काठमाडौं प्रशासनले जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला÷जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो समेतलाई दृष्टिगत गर्दै उक्त आदेश जारी गरेको जनाएको छ ।प्रजिअ तिवारीद्वारा आइतबार जारी आदेशमा त्यस्ता कार्यक्रम आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो आाएको तथा सार्वजनिक सम्पत्ति र समग्र शान्तिसुरक्षामा असर पर्न जाने अवस्था देखिएकाले जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जेठ १९ गतेदेखि लागू हुनेगरी तोकिएको स्थानबाहेकमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको उल्लेख छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको उक्त आदेश आउँदो दुई महिनासम्म कायम रहने जनाइएको छ ।राजावादी समूहहरूले राजतन्त्रको पक्षमा आन्दोलन चर्काउँदै गएपछि प्रशासनले निषेधित क्षेत्र बढाएको हो । काठमाडौंको नारायणचौर नक्सालमा आइतबार राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित केही नेतालाई पक्राउ गरेको थियो । त्यसपछि राजावादी समूहले जेठ १९ गते उपत्यका बन्द गर्ने र आन्दोलन थप चर्काउने घोषणा गरेका थिए । सरकारले आफूहरूको आन्दोलनमा दमन गरेको भन्दै राजावादी समूहले आन्दोलनको स्वरूप परिवर्तन गरेको बताएकोे छ ।प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष थापासहित सात जना रिहा भए । एक जनालाई भने हिरासतमै राखिएको प्रहरीले जनाएको छ । आफूलाई हिन्दुवादी धार्मिक अभियान्ता बनाउने डा राजीव झाले मापसे गरेर प्रहरीलाई गालीगलौज गरेकाले हिरासतमा राखिएको बताएको छ ।राप्रपा र राप्रपा नेपालका नेताहरूले राजतन्त्रको पक्षमा केही दिनदेखि उपत्यका केन्द्रीत प्रदर्शन गरिरहेका छन् ।