दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाले आफ्नै सहयोगमा पालिकाभित्रका आँखा रोगीको शल्यक्रिया गर्न सुरु गरेको छ । आँखा रोगको कारण कुनै नागरिकले अन्धोपन भोग्नु नपरोस् भन्दै पालिका अध्यक्ष छवि लामाले पालिकामा शिविर सञ्चालन गरेर शिविरमा अप्रेसन गर्नुपर्ने समस्या देखिएका बिरामीलाई काभ्रेको बनेपामा रहेकोे मासुनाँगा आँखा अस्पताल लगेर अप्रेसन गर्न बिरामी पठाइएको अध्यक्ष लामाले बताए ।
वैतेश्वरका–८ वडामा ८ दिनसम्म निःशुल्क आँखा शिविर कार्यक्रम सञ्चालन गर्दा नौ सय २४ जनाको आँखा परीक्षण गरिएको थियो । पालिकाले रेयुकाई एईको मासुनाँगा आँखा अस्पताल बनेपासँगको प्राविधिक सहयोग लिएर सञ्चालन गरिएको शिविरबाट ६० जना मोतियाविन्दुका बिरामी फेला परेको आँखा रोग विशेषज्ञ नेत्रशाही रेणु विकले बताइन् ।
गत आइतबारदेखि सुरु भएको आठ दिने निःशुल्क आँखा शिविर कार्यक्रम आज सम्पन्न गर्दै ६० जना मोतियाविन्दुका बिरामी छनोट भएको उनले बताइन् । बैतेश्वर गाउँपालिकाभित्रका आठवटै वडाहरूमा प्रत्येक दिन सञ्चालन गरिएको शिविरमा नौ सय २४ जनाको आँखा परीक्षण गर्दा ३५ जना पुरुष र २५ जना महिलागरि जम्मा ६० जनामा मोतियाविन्दुको समस्या झेलिरहेका बिरामी भेटिएको र पालिकाले उनीहरूको अप्रेसन पनि निःशुल्क गर्ने व्यवस्थापन गरिदिएको वैतेश्वरका स्वास्थ्य शाखा प्रमुख बमबहादुर तामाङले बताए ।
उनीहरूलाई पहिलो चरणमा पालिका आफैँले बस, खाने बस्ने व्यवस्था मिलाएर पहिलो चरणमा २४ जनाको मोतियाविन्दुको अप्रेसन गर्न बनेपा लगिएको हो । अन्य बाँकी बिरामीलाई पनि त्यहीँ लगेर अप्रेसन गरिने छ ।
उक्त शिविरमा पाँच सय ११ जना महिला र चार सय १५ जना पुरुषले आँखाजाँच गरेका थिए । त्यसैगरी दुई जनामा जलविन्दु र दुई सय ७६ जनालाई भने चस्मा वितरण गरिएको थियो ।