काठमाडौं । नेपालका राजाबादीहरुले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना गरिदिन भारतलाई पत्र लेखेको खुलासा भएको छ । नेपाल हिन्दु राष्ट्र पुनर्स्थापना मञ्चले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा नेपाललाई पुनः हिन्दु राष्ट्र घोषित गर्नका लागि नैतिक, कूटनीतिक र रणनीतिक समर्थन गरिदिन माग गरिएको छ ।आइतबार दिल्लीको प्रेस क्लब अफ इण्डियामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डाक्टर इन्जिनियर विष्णुप्रसाद बरालले नेपालमा राजसंस्था सहितको पुनः हिन्दु राष्ट्र फर्काउनका लागि आफूहरुले भारतबाट अन्तर्राष्ट्रिय दबाब बनाउन शुरु गरेको बताएका हुन । सोही क्रममा भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएको उनको भनाइ छ ।