काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बाँके जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।
सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार राय शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाबाट पक्राउ परेका हुन् । दुई अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेको अभियोगमा राय पक्राउ परेका हुन् ।
पक्राउ परेका राय कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत थिए । बैंकमा संकलन भएको बचतकर्ताको दुई सय ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राय उपर ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता खड्काले जानकारी दिएका छन् ।