झापा । झापाका कृषकले सरकारले निर्धारण गरेको चैतेधानको न्यूनतम समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । सरकारले गत फागुनमा आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैतेधानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ तोकेको थियो । झापाका कृषकले प्रतिक्विन्टल एक हजार सात सय ५० रुपैयाँमा चैतेधान बेचिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।
सरकारले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैतेधानका हकमा भने एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने गरेको थियो । ‘मूल्य नपाएपछि कृषकहरूले सात सय रुपैयाँ प्रतिमन धान बेचिरहेका छन्,’ उनले भने, ‘धानमिलहरूले कम मूल्यमा धान किनिरहेका छन्, कृषकहरूले व्यापक गुनासो गरिरहनुभएको छ ।’
चैतेधान भण्डारण गर्न समस्या हुने भएकाले कृषक बेच्नैपर्ने बाध्यतामा छन् । गत वर्ष प्रतिमन एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्म चैतेधान बिक्री भएको थियो । सरकारले चैतेधानको समर्थन मूल्य बढाए पनि कृषक गत वर्षको भन्दा पनि निकै कम मूल्यमा धान बेच्न बाध्य छन् ।