काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा एक हजार वटा फलफूलको बिरुवाहरु रोपण गरेको हो । उक्त वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानापक, विद्यालयका प्रतिनिधिहरु र विद्यार्थीसहित स्थानीयहरुको उपस्थिति थियो ।
साथै, बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरुमा एक हजार पाँच सयवटा बाँसका विरुवा रोपण गरेको छ । बैंकले सञ्चालन गरेको उक्त वृक्षारोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला नेतृत्व तथा प्रतिनिधिहरु र स्थानीय व्यक्तीहरुको ठूलो उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा यस आर्थिक वर्षमा मुलुकभर १८ हजार बिरुवा रोपण गर्ने लक्ष्यका साथ विभिन्न स्थानमा वृक्षारोपण गरिरहेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर सातवटै प्रदेशहरुको विभिन्न स्थानहरुमा वृक्षारोपण गरिरहेको छ । साथै, उक्त वृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ शाखा कार्यालय, तीन सय ८५ एटीएम, दुई सय दुई शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।